बिहिबार, बैशाख ०६, २०८१

प्रतिनिधिसभाको बैठक संञ्चालन गर्नका लागि दैनिक ७ लाख खर्च

काठमाडौं । प्रतिनिधिसभाको बैठक संञ्चालन गर्नका लागि प्रति बैठक दैनिक ७ लाख रुपैया खर्च हुने गरेको छ ।

प्रतिनिधिसभाको बैठक संञ्चालनका लागि आवश्यक पूर्व तयारीदेखि सांसदहरुलाई उपलब्ध गराउने यातायात र बैठक भत्तासमेत गरि प्रति बैठक दैनिक ७ लाख रुपैया खर्च हुने गरेको संघीय संसद सचिवालयले जनाएको छ ।

यो बैठक कार्यकक्ष सरसफाई, प्रविधि जाँच, सुरक्षा प्रबन्ध, प्रत्यक्ष प्रशारणको चेकजाँच, जनशक्ति परिचालन, संसद भवनको वार्षिक भाडा, पानी बिजुली लगायतमा हुने खर्चहरुको एकमुष्ठ रकम हो । बैठक बस्ने दिन मर्यादापालक लगायत सचिवालयका अन्य कर्मचारीहरु आधा घण्टा अघि देखि तयारी अवस्थामा बस्नुपर्ने हुन्छ ।

बैठकका पूर्व तयारीदेखि सांसदहरुलाई उपलब्ध गराउने समेत गरि प्रतिबैठक दैनिक ७ लाख रुपैया खर्च भइरहेको संघीय संसदका प्रवक्ता डाक्टर रोजनाथ पाण्डेले जानकारी दिए।

बैठक अवरुद्ध हँुदा पनि सचिवालयको यो खर्चमा भने कमि आउँदैन । बैठक अवरुद्ध भएपनि सचिवालयले सांसदहरुलाई बैठक भत्ता वापत एक हजार र यातायात बापत १ हजार गरि प्रति सांसद २ हजार रुपैया उपलब्ध गराउनुपर्ने हुन्छ ।

संघीय संसद भवनको मासिक भाडा १८ लाख र बिजुली पानी लगायतमा मासिक १२ लाख खर्च हुने गरेको प्रवक्ता पाण्डेले बताए। बैठक अवरुद्ध हुँदा बैठकका कार्यसुचीलाई मात्रै प्रभाव पार्ने भएकाले यो खर्च सचिवालयका लागि अनावश्यक व्ययभारको रुपमा रहने गर्दछ ।

दैनिक जसो बैठक अवरुद्ध हुदा जनताको सरोकार राख्ने विषयले सदनमा प्रवेश नपाउने तर सचिवालयको आर्थिक व्ययभार बढ्दै जाने देखिन्छ।