काठमाडौं। तत्कालीन नागरिक उड्डन तथा पर्यटन मन्त्री रविन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएपछि रिक्त रहेको मन्त्रालयले बुधबार पूर्णता पाएको छ ।
रविन्द्र अधिकारीको उत्तर अधिकार बनेर उनकै मित्र नेकपा स्थायी कमिटि सदस्य योगेश भट्टराई मन्त्रालय प्रवेश गरेका हुन्।
बुधबार शपथ ग्रहणपछि नवनियुक्त मन्त्री भट्टराईले मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका छन्। पदभार ग्रहण कार्यक्रममा संक्षिप्त मन्त्व्य राख्दै उनले स्वर्गीय अधिकारीलाई सम्झे।
उनले मन्त्री अधिकारीले नै यो मन्त्रालय राम्रोसँग चलाउन सक्थे भन्दै उनले शुरु गरेका योजना पूरा गर्ने प्रतिवद्धतासमेत गरे। उनले भने, ‘म यसअघिका सबै मन्त्रीहरुसँग सल्लाह गरेर अगाडि बढ्ने छु, रविन्द्र अधिकारीको उत्तरअधिकारीका रुपमा यहाँ आएको छु, यो मन्त्रालयका लागि उहाँ मभन्दा योग्य हुनुहुन्थ्यो, अथवा उहाँले अझ राम्रोसँग चलाउन सक्नुहुन्थ्यो तर, प्रकृतिलाई त्यो कुरा स्वीकार भएन, हामीले उहाँलाई गुमायौ।’
संयोग नै मान्नुपर्छ स्वर्गीय अधिकारी र नवनियुक्त भट्टराईसँगसँगै विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा स्थापित भएका नेतामात्र होइनन्, अनेरास्ववियूको अध्यक्ष भट्टराई हुँदा अधिकारी महासचिब थिए। उनै अधिकारीको भट्टराईको गृह जिल्ला ताप्लेजुंगमा भएको हेलिकोप्टर दुर्घटनामा ६ महिना अगाडि निधन भएको थियो।
तत्कालीन पार्टी अध्यक्ष केपी ओलीले भट्टराईको चुनावी सभालाई सम्बोधन गर्दै ताप्लेजुङवासीहरुलाई भनेका थिए, ‘तपाईँहरु योगेशलाई सांसद बनाउनुहोस, म मन्त्री बनाउँछु ।’ भट्टराई सांसद बने ओली प्रधानमन्त्री बने तर, ओलीलाई त्यो बाचा पूरा गर्न करिब १८ महिना लाग्यो । त्यो पनि भट्टराईकै प्रिय मित्र रविन्द्र अधिकारीको निभनपछि मन्त्रालय खाली भएपछिमात्र ।