मङ्गलबार, बैशाख ०४, २०८१

मापसे गरी सवारी चलाएका ४३९ चालकको लाइसेन्स निलम्बन

काठमाडौं । यातायात व्यवस्था कार्यालयले मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाउने ४३९ चालकको अनुमतिपत्र (लाइसेन्स) निलम्बन गरेको छ ।

उक्त कार्यालयले महानगरीय ट्राफिक प्रहरी महाशाखाको सिफारिसमा पाँच पटकभन्दा बढी मापसे कारबाहीमा परेका व्यक्तिको लाइसेन्स निलम्बन गरेको हो । वि.सं. २०६८ मङ्सिर १७ देखि मापसे जाँचलाई कडाइ गर्दै आएको महाशाखाले हालसम्म उपत्यकामा मापसे सेवन गरेर सवारी साधान चलाउने एक लाख ९० हजार ६९० चालकलाई कारबाही गरेको छ ।

महाशाखाले २०६८ सालदेखि मापसे जाँच गरे पनि लाइसेन्समा प्वाल पार्ने काम भने २०६९ मङ्सिरदेखि गर्दै आएको हो ।

पहिलोपटक मापसे सेवन गर्ने एक लाख ४९ हजार २१६, दोस्रोपटक २७ हजार ४७७, तेस्रोपटक नौ हजार ९९, चौथोपटक तीन हजार २८४ र पाँचौँ पटक एक हजार १७५ चालकलाई कारबाही गरिएको थियो ।

महाशाखाले मापसे सेवन गरी सवारीसाधन चलाउने चालकको लाइसेन्समा प्वाल पार्दै आएको छ । महाशाखाका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले पछिल्लो समय उपत्यकामा मापसे सेवन गरी सवारीसाधन चलाउने चालकको संख्यामा कमी आएको बताए ।

‘पछिल्ला वर्षमा मापसे कारबाहीमा पर्नेको संख्यामा कमी आएको छ,’ उनले भने । महाशाखाका अनुसार आव २०७४÷०७५ मा २२ हजार २२६ चालक मापसेमा कारबाही परेकामा आव २०७५÷०७६ मा २१ हजार ९७३ चालक कारबाहीमा परेका थिए ।

महाशाखाले मापसे कारबाहीमा परेका चालकसँग एक हजार जरिवाना लिनाका साथै उनीहरूका लागि कक्षा सञ्चालन गर्दै आएको छ । उपत्यकामा मापसे सेवन गरी सवारीसाधन चलाएपछि दुर्घटना हुने र धेरै मानिसको मृत्यु हुने गरेपछि ट्राफिक महाशाखाले २०६९ देखि मापसे जाँच तथा कारबाही गर्दै आएको हो ।