Nepali date


शुक्रबार, कार्तिक २९, २०७६

कांग्रेस बैठक : महाधिवेशन निष्कर्ष, संरचनामा अलमल

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकले १४औं महाधिवेशनमा जाने विषयलाई प्रस्ट रूपमा एजेन्डामै राखे पनि कसरी जाने भन्नेमा नेतापिच्छे नै प्रस्ताव आइरहेको छ ।

कांग्रेसको संस्थापन पक्ष र इतर पक्षमा रहेका नेता महाधिवेशनका विषयमा सहमत भए पनि महाधिवेशनमा जानका लागि आवश्यक पर्ने सबै संरचनाको भर्पाई कसरी गर्ने भन्नेमा भने विभाजित हुँदै आएका छन् ।

संस्थापन पक्ष सहमतिमै सबै तहको संरचना बनाएर महाधिवेशनमा जानुपर्ने पक्षमा छ भने इतर पक्ष विधि र प्रक्रियाबाटै महाधिवेशनमा जानुपर्ने पक्षमा रहँदै आएको छ । तर, इतर पक्षका केही नेता भने पुरानै व्यवस्थाअनुसार पनि महाधिवेशनमा जान सकिने बताउँदै आएका छन् ।

कांग्रेस विधानको धारा ७२ (४) अनुसार पार्टीका रिक्त संगठन अन्तरिम व्यवस्थाअनुसार गठन हुने व्यवस्था छ । यसरी विधानअनुसार रिक्त संरचनालाई पूर्णता दिएर मात्रै कांग्रेस १४ महाधिवेशनमा जान सक्ने देखिएको छ ।

गत शुक्रबारको बैठकमा समेत पार्टीको रिक्त संरचनाको भर्पाई सहमतिमा गर्ने कि निर्वाचन प्रक्रियामा जाने भन्ने विषयमा नेताहरू विभाजित थिए । राजधानी दैनिकमा खबर छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया