सोमबार, कार्तिक २५, २०८२

भ्रमण वर्षको अवसर पारेर नेपालमा अन्तर्राष्ट्रिय मिडिया समिट: मन्त्री बाँस्कोटा

बनेपा । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ‘भ्रमण वर्ष’ सन् २०२० मा नेपालमा अन्तर्राष्ट्रिय मिडिया समिट गरिने बताउनुभएको छ ।
मन्त्री बाँस्कोटाले नेपाल होटल तथा पर्यटन व्यवसायी सङ्घ प्रदेश नं ३ को प्रथम अधिवेशनलाई शनिवार काभ्रेपलाञ्चोकको बनेपामा सम्बोधन गर्दै भ्रमण वर्षमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अन्तर्राष्ट्रिय मिडिया समिट गर्ने बताउनुभएको हो । “भ्रमण वर्षका अवसरमा सञ्चार मन्त्रालयले नेपाली मिडियालाई पार्टनर बनाएर अन्तर्राष्ट्रिय मिडिया समिट गर्नेछ”, उहाँले भन्नुभयो ।

मन्त्री बाँस्कोटाले होटल तथा पर्यटन व्यवसायीलाई मिडिया समिटका लागि सरकारसँगै ‘लिड गर्न’ पनि आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “भिजिट ट्वान्टी ट्वान्टी भनेर तपाईहरु पनि लिड गर्नुस्, पक्कै सफल भइन्छ । उहाँले सन् २००८ मा थाइल्याण्डमा भएको बाढीको उदाहरण दिँदै त्यतिबेला थाइल्याण्ड सरकारले अन्तर्राष्ट्रिय मिडिया समिट गर्दा खस्केको पर्यटन क्षेत्रमा व्यापक मात्रामा परिवर्तन भएको स्मरण गराउनुभयो । उहाँले भन्नुभयो, “प्राकृतिक प्रकोप त जहाँ पनि हुनसक्छ, हामीले त्यसको सामना गर्ने हो ।

मन्त्री बाँस्कोटाले सङ्गठन, व्यवसाय, विकास, संवद्र्धन तथा राष्ट्रलाई टेवा र सुरक्षा पु¥याउने गरी योजना ल्याए सरकार होटल तथा पर्यटन व्यवसायीलाई सहयोग गर्न तयार रहेको बताउनुभयो । तपाईहरुले बाह्य मात्रै होइन, आन्तरिक पर्यटनमा समेत ध्यान दिनुपर्दछ”, उहाँले भन्नुभयो, “अनुचित बार्गेनिङको विषयका निम्ति कुनै सङ्घसंस्था बनाइरहनु राष्ट्रलाई अहितकर हुन्छ, बार्गेनिङ गरेर पाइन्छ भन्ने कुरा कसैले पनि नसोच्नुहोला ।

मन्त्री बाँस्कोटाले भ्रमण वर्षका लागि सरकारले औपचारिकरूरुपमा मात्रै रु १० करोड छुट्याएको बताउनुभयो । “भ्रमण वर्षका लागि पर्यटन मन्त्रालय, पर्यटन बोर्डलगायतले सहयोग गर्नेछन्, हामी सबै भ्रमण वर्ष सफल पार्न आ–आफ्नो क्षेत्रबाट जुट्नुपर्दछ”, उहाँले भन्नुभयो ।

मन्त्री बाँस्कोटाले ठूला होटलको अवधारणा ल्याउनेका लागि सरकारले सडक, बिजुली, इन्टरनेटलगायत पूर्वाधारको विकास गर्ने बताउनुभयो ।