काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले मुलुकमा ‘भनसुन उद्योग’ सुरु भएको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित नेपाली कांग्रेसका युवा नेता गुरुराज घिमिरेको ‘मान्छेका कथाहरु’ कथा संग्रह लोर्कापण कार्यक्रमा सभापति देउवाले नेपालमा सबै भन्दा ठुलो उद्योगको रुपमा भनसुन उद्योग फस्टाउँदै गएको बताए । लोकसेवा आयोगको परीक्षामा समेत भनसुन चल्ने गरेको दाबी उनेले गरे ।
उनले भने, ‘नेपालमा भनसुन उद्योग सुरु भइसक्यो । सबैभन्दा ठूलो उद्योग भनेको भनसुन उद्योग हो । जसको भनसुन हुन्छ उसको चल्छ । लोकसेवा अयोगको लिखित परीक्षा पास भएर के गर्नुहुन्छ ? उसको भनसुन गर्ने मान्छे थिएन फेल गर्दिए ।’
उनले निर्मला पन्तको हत्यारा अहिले सम्म पत्ता लाग्न नसकेको, दण्डहिनता र हिंसाका घटनाहरु बढ्दै गएको , भ्रष्टाचार लगायत शुसासन कायम हुन नसकेकाले मुलुकमा असल राजनीतिज्ञको आवश्यकता रहेको बताए।
कार्यक्रममा सक्षम नेता भएर पनि गुरु घिमिरेलाई पार्टी नेतृत्वले संरक्षण गर्न नसकेको विषयमा शीर्ष नेताहरुबीच बहस नै चल्यो । महामन्त्री शशांक कोइरालाले नेतृत्वले घिमिरेलाई राजनीतिमा सुरक्षित गर्न नसकेको भन्दै साहित्यमा ९० र राजनीतिमा १० प्रतिशत समय दिन सुझाव दिएपछि सभापति देउवाले अबदेखि अन्याय हुन नदिने प्रतिवद्धता नै गरे । वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिमा भोग्नु परेको असफलताले साहित्यमा सफलता प्रदान गरेको भन्दै सबै घटनालाई सकारात्मक लिन आग्रह गरे ।
महामन्त्री कोइरालाले भने, ‘गुरुराज जी तपाईलाई सेफ गर्ने नेतृत्व भएन । न मैले सकेँ। न शेरबहादुर जी ले सक्नुभो । न रामचन्द्र दाईले सक्नु भो । उहाँ त चुनावमा लड्ने मान्छे हो । तर उहाँले टिकट पाउनुभएन । किनभने हामीले उहाँलाई संरक्षण दिन सकेनौँ । त्यसैले म के भन्न चाहन्छु भने ९० प्रतिशत साहित्यकार हुनु १० प्रतिशत मात्रै राजनीति गर्नु ।’
महामन्त्री कोइरालाले नेतृत्वले संरक्षण गर्न नसकेको भन्दै ९० प्रति साहित्यलाई र १० प्रतिशत मात्रै राजनीतिलाई दिन सुझाव दिएपछि कार्यक्रम हाँसोले गुञ्जायमान बनेको थियो । लगत्तै बोलेका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिमा पाएको ठक्करले प्रतिभा प्रष्फुटन भएको टिप्पणी गरे।
उनले भने, ‘विशेष प्रकारका घटनाहरुको संघारबाट प्रतिभाको प्रस्फुटन हुन्छ । उहाँलाई पनि निर्णयको घटनाको संघारबाट प्रतिभा प्रस्फुटन भएको हो । कहिले काही नराम्रो कुराले पनि राम्रो हुने गर्छ ।’
सभापति देउवाले त नेता घिमिरेलाई अन्याय भएको स्वीकारै गरे । उनले भने, ‘वास्तवमा अन्याय भएको छ । एउटा सिट हुन्छ । ५० जना चाहन्छन् । कसरी हुन्छ ? राजनीतिबाट टाढा नरहनु । अब अन्याय नगर्ने किसिमले जाउँला । राजनीति र साहित्यलाई संगसंगै लैजानुहोस् ।’
लेखक एवं नेता घिमिरेले आफु पूर्णकालनि राजनीति व्यक्तित्व भएकाले ९० प्रतिशत राजनीति र १० प्रतिशत समय मात्रै साहित्यलाई दिने गरेको बताउका थिए।
शमी साहित्य प्रतिष्ठानले बजारमा ल्याएको घिमिरेका ‘मान्छेका कथाहरु’ कथा संग्रहमा १४ वटा कथा संग्रहित छन् ।

