शुक्रबार, बैशाख ०७, २०८१

बिभिन्न बहानामा सामुदायिक विद्यालयमा शुल्क असुल

काठमाडौँ ।मुलुकभरमा सञ्चालनमा रहेका सामुदायिक विद्यालयले बिभिन्न बहाना र शीर्षकमा शुल्क लिन थालेपछि अभिभावक तथा विद्यार्थीबाट असन्तुिष्ट सुनिन थालेको छ ।

विराटनगरको पोखरिया विद्यालयमा कक्षा ९ मा अध्ययनरत सन्तोष कार्कीले भर्ना शुल्क, जाँच शुल्कको रूपमा हरेक वर्ष १८ सयदेखि २ हजारसम्म तिरिरहेको बताउनुभयो ।

शिक्षा नियमावली २०७४ अनुसार कुनै पनि सामुदायिक विद्यालयले कुनै पनि बहानामा शुल्क लिन पाईँदैन । तर सीधै शुल्क नलिए पनि विद्यालयमा बिभिन्न शीर्षकमा विद्यार्थीबाट रकम उठाउने गरिएको बारेमा गुनासो आएको शिक्षा विकास तथा समन्वय ईकाइ महोत्तरीका पमुख सत्रुधन यादवले बताउनुभयो ।

सङ्घीय संरचना अनुसार शिक्षासम्बन्धी अधिकार स्थानीय तहलाई दिइएको छ । दाङको घोराही उपमहानगरपालिकाले भने यो वर्षदेखि शुल्क नलिन भन्दै नीतिगत निर्णय नै गरेको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले बताउनुभयो ।

मुलुकभर सञ्चालनमा रहेका झन्डै २९ हजार सामुदायिक विद्यालयमा ३९ लाखको हाराहारीमा बालबालिकाहरू अध्ययनरत छन् । शिक्षा नियमावली अनुसार सामुदायिक विद्यालयमा पढ्ने माध्यमिक तहसम्मका बालवालिकाले रकम तिर्नुपर्दैन ।