शुक्रबार, बैशाख ०७, २०८१

रामेछापको पुरानो बजार साँघुटार बजारमा आगलागी, करोडौको क्षति

रामेछाप । रामेछापको रामेछाप नगरपालिका वडा नम्बर ३ साँघुटारमा आगलागीका कारण चार घर जलेर नष्ट भएको छ ।

गोदाममा रहेको डिजल र पेट्रोलमा अचानक आगो लाग्दा चार वटा घर जलेर नष्ट भएको हो । बिहीबार बिहान लागेको आगो ३ घण्टापछि नियन्त्रणमा लिइएको थियो ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख सन्तोष भट्टराईका अनुसार लिखु खोला छेउको पक्की पुल नजिकै रहेको सिंहदेवी निर्माण सेवाको स्टोरबाट निस्किएको आगोले अंकित श्रेष्ठको पक्की घर जलेर नष्ट भएको छ ।

त्यसैगरी, राजन सुवेदी, अनिस थापा र हरिमाया थापाको घर पनि जलेको छ । गोदाममा ग्यास तथा पेट्रोल र डिजेलसमेत रहेकोले आगो केही बेरमै फैलिएको थियो । आगलागीबाट करोडौको क्षति भएको अनुमान गरिएको प्रहरीले जनाएको छ ।