शुक्रबार, कार्तिक २९, २०८२

लमजुङमा बाढीमा परेर कम्तिमा ४ जनाको मृत्यु, १५ बढी बेपत्ता

लमजुङ । उत्तरी लमजुङको दोर्दी खोलामा बुधबार दिउँसो आएको बाढीमा परी ४ जनाको मृत्यु भएको छ ।

दोर्दीखोला गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङका अनुसार साँझसम्म ४ जनाको शव फेला परेको छ। मृतकको सनाखत हुन भने सकेको छैन।

‘एक्कासी बाढी आएपछि जलविद्युत आयोजना बनाउन काम गरिरहेका मजदुरलाई बाढीले बगाएको खबर आएको छ,’ उनले भने, ‘४ जनाको शव भेटिसक्यौं, अरु १५ भन्दा बढी बेपत्ता भएका छन्।’

गुरुङका अनुसार हिमालतिर पहिरो खसेर थुनिएको नदी अचानक फुटेपछि उत्पन्न बाढीमा आयोजनाका कामदारहरू परेका हुन्। गुरुङले सबभन्दा धेरै लिबर्टी जलविद्युत आयोजनाका कामदार बाढीमा परेको बताए।

अहिले लमजुङका प्रमुख जिल्ला अधिकारीसहित प्रहरीको टोली घटनास्थलमा गइरहेको सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले जानकारी दिए।