शुक्रबार, बैशाख ०७, २०८१

एक वर्षमा युएईमा ९८ जना नेपालीले ज्यान गुमाए

युएई । आर्थिक वर्ष २०७५–०७६ मा रोजगारीको लागि युएई आएका ९८ जना नेपालीले ज्यान गुमाएका छन् । नेपाली राजदूतावास आबुधाबीको तथ्याङ्कअनुसार ज्यान गुमाउनेमध्ये ९३ जना पुरुष र ५ जना महिला छन् ।

मृत्यु हुने धेरै जनाको कारण प्राकृतिक देखिएको छ । प्राकृतिक कारणले ४८ जना पुरुषको ज्यान गएको छ । यस अन्तर्गत हृदयघात, मस्तिष्क पक्षघात तथा अन्य कारण छन् । त्यस्तै २ महिला र २१ जना पुरुषको सवारी दुर्घटनामा परेर मृत्यु भएको तथ्याङ्क दूतावासको रेर्कडमा छ ।

त्यसैगरी युएईमा गएको आर्थिक वर्षमा २ महिला र २१ पुरुष गरी २३ जनाले आत्महत्या गरेको दूतावासले जनाएको छ । अघिल्लो वर्ष ३१ जनाले आत्महत्या गरेका थिए ।

त्यस्तै १ जना महिलासहित ३ जना पुरुषको हत्या भएको छ । हत्या प्रकरणमा नेपालीकै संलग्नता देखिएको अनुसन्धानबाट खुलेको छ ।

गत वर्षबाट यसरी ज्यान गुमाएका, दुर्घटनामा परेका नेपालीको क्षतिपूर्ति तथा सम्बन्धित परिवारलाई ब्लडमनी दिलाउन दूतावास आफैले मुद्दा लड्दै आएको छ ।