सोमबार, कार्तिक २५, २०८२

सिन्धुलीमा अविरल बर्षाको कारण बाटो बनाउदै बिरामी स्वास्थ्य चौकी ल्याउनु पर्ने

पुष्कर खड्का,रामेछाप । सिन्धुलीमा लगातार परेको बर्षाको कारण स्थानीय बासिन्दालाई स्वास्थ्य चौकी सम्म आउन समस्या भएको छ । बर्षाका कारण ग्रामिण भेगका सडकहरु जताततै अबरुद्ध भएपछि स्वास्थ्य चौकी सम्म आउन समस्या भएको हो ।
आइतवार गोलन्जोर गाउँपालिका ६ चरङगे सिन्धुलीका जित बहादुर गोलेलाई छोराहरुले ३ घन्टाको बाटो बोकेर खनियाखर्क ल्याएका थिए । क्षयरोगका बिरामी गोलेलाई, बोकेर स्वास्थ्य चौकी सम्म ल्याउन गोरेटो बाटो समेत नभएकोले बाटो बनाउदै आउनु परेको उनिहरुको गुनासो थियो ।अबिरल बर्षा सँगै खसेको पहिरोका कारण हाल गोलन्जोर गाउँपालिका ५ को खनियाखर्क हुदै ,रतन्तुरा ,तीनकन्या जाने सडक अबरुद्ध भएको छ ।
सोमवार देखि बाटो मर्मतको काम सुरु भएको गोलन्जोर गाउँपालिका ५ का वडा सदस्य पुर्ण बहादुर थापाले जानकारी दिए ।जिल्लाभरका अन्य ग्रामीण सडकहरुको अवस्था पनि यस्तै रहेको छ । बर्षा केही कम भए सँगै ग्रामीण सडकहरु सुचारु गर्ने पहल भईरहेको स्थानिय जन प्रतिनिधिहरुले बताएका छन् ।