सोमबार, बैशाख १४, २०८३

जापानमा नेपाली कामदार पठाउन सीपसम्बन्धी परीक्षा कात्तिकमा हुने

काठमाडौं । जापानमा नेपाली कामदार पठाउन आवश्यक भाषा र सीपसम्बन्धी परीक्षा आँउदो कात्तिक महिनामा हुने भएको छ ।

जापान सरकारले सुरूमा अरूको हेरचार गर्ने ‘केयर गिभर’ का रूपमा कामदार लिन चाहेकाले त्यसैअनुसार भाषा परीक्षाको तयारी भइरहेको मन्त्रालयका श्रम मन्त्रालयले जनाएको हो । तर केयर गिभरका लागि कति नेपाली कामदार जापानले लिन खोजेको भन्ने चाहिँ जानकारी आइनसकेको मन्त्रालयका सहसचिव डाक्टर रामप्रशाद घिमिरेले बताउनुभयो ।

गत चैतको दोस्रो साता नेपाल र जापान सरकारबीच कामदारको क्षेत्रमा सहकार्यको समझदारी (एमओयू) मा हस्ताक्षर भएको थियो । त्यतिबेला उक्त सम्झौता अनुसार नेपालबाट कामदार जापान पठाउने प्रक्रिया बैशाख महिनाबाटै सुरू हुने बताइए पनि त्यसमा अलमल भएको थियो ।

भाषा र सीपसम्बन्धी परीक्षा सकिएको दुई महिनाभित्र नेपाली कामदार जापान जाने मन्त्रालयले जनाएको छ ।

गत डिसेम्बरमा जापानको मन्त्रिपरिषद्ले विदेशी कामदारलाई आफ्नो देशमा भित्र्याउने नीति पारित गरेपछि नेपालीलाई पनि कामदारका रूपमा जापान जाने बाटो खुलेको थियो । दुई सरकारीबीच भएको सहमति अनुसार जाने नेपालीले १४ वटा विभिन्न क्षेत्रमा काम गर्न पाउनेछन् ।