काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रस्तावित ‘दुरसञ्चार ऐन’ को विरोध गरेका छन् । सरकारले टेलिफोन ट्याप गर्ने र आफ्ना विरोधीहरुलाई फोन गर्दै गाली गर्यो भन्दै ठेगान लगाउन खोजेको उनको आरोप छ ।
वीपी स्मृति दिवसको अवसरमा शहीद स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा देउवाले भने, ‘हुँदाहुँदा टेलिफोनमा गाली गर्यो भने एक वर्ष जेल, कति हजार जरिवाना रे ।यदि यो साँचो हो भने टेलिफोन ट्यापिङ हुने भइहाल्यो ।
टेलिफोन ट्याप नगरी फोनमा गाली गरेको थाहा नहुने भन्दै उनले अघि भने, ‘यो अर्को खतरनाक कुरा हो । गोप्यता नरहने भयो, कुरा गर्नै अप्ठ्यारो हुने भयो ।
सरकारले ‘फोन गर्दै गाली गर्यो’ भनेर आफ्नो विरोध गर्नेहरुलाई जेल हाल्न सक्ने भन्दै पूर्वप्रधानमन्त्री देउवाले भने, ‘यही हो अधिनायवादी शासन भनेको ।
सञ्चार मन्त्रालयले तयार पारेको मस्यौदामा दूरसञ्चार सेवाका मनध्यमबाट गाली गर्ने, धम्क्याउने वा अनावश्यक दुख दिनेलाई १५ लाखसम्म जरिवाना वा एक वर्षसम्म कैद गर्न सक्ने प्रस्ताव रहेको समाचार प्रकाशित भएको थियो ।
उनले मिडिया काउन्सिल विधेयक, राष्ट्रिय मानवअधिकार आयोगसम्बन्धी विधेयक पास हुन नदिने बताए ।

