काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्ता निष्कर्षबिहिन सकिएको छ ।
सहमति नभएपछि मंगलबार दिउँसो १ बजे बस्ने तय भएको नेकपाको सचिवालय बैठक स्थगित भएको छ ।
पछिल्लो समय नेकपामा देखिएको स्कुल विभागको विवाद समाधानका लागि दुई अध्यक्षबीच सोमवार ३ घन्टा छलफल भएको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ४ बजेदेखि बेलुकी सात बजेसम्म ओली र प्रचण्डबीच छलफल भएको थियो । दुई अध्यक्षको छलफलमा महासचिव विष्णु पौडेल समेत सहभागि भएका स्रोतको दावी छ ।
महासचिव पौडेलले भने आगामी बैठकबाट स्कुल विभागको दावी टुंगो लाग्ने बताए । उनले भने, ‘दुई जनाले स्कुल विभागमा इच्छा देखाउनु भएको छ । आगामी सचिवालय बैठकले सबै विषय टुंगो लगाउँछ ।’
स्कुल विभागको प्रमुख को हुने भन्ने विवादले आईतबार बसेको सचिवालय बैठक समेत जिल्ला इन्चार्ज र सहइन्चार्जको नाम टुंगो लगाएर स्थगित भएको थियो ।
स्रोतका अनुसार आज पनि दुवै अध्यक्षले स्कुल विभागको दावी छाडेका छैनन् ।
प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले पूर्वएमालेका केही नेतासँग र अर्का अध्यक्ष प्रचण्डले पूर्वमाओवादीका नेतासँग अनौपचारिक छलफल गरेपछि दुई अध्यक्षबीच भेटवार्ता भएको थियो ।
नेकपामा स्कुल विभागको जिम्मेवारीका विषयमा चर्को विवाद भैरहेको छ । विभिन्न विभागको भागबण्डा गरेपनि स्कुल विभागका विषयमा दुई अध्यक्षबीच नै कुरा मिल्न सकेको छैन् ।
ओलीले स्कुल विभागमा सचिवालय सदस्य ईश्वर पोखरेललाई ल्याउन खोजेका छन् भने प्रचण्डले पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशलाई स्कुल विभागको प्रमुख बनाउन लागि परेका छन् ।
बेलाबेलामा विवादीत अभिव्यक्ति दिने भएकाले पूर्वमाओवादी पक्ष पोखरेललाई स्वीकार नगर्ने अवस्थामा पुगेको छ । पूर्वएमालेका नेताहरु समेत पोखरेललाई स्कुल विभागको जिम्मेवारी दिन नहुने पक्षमा छन् ।
नौ सदस्यीय सचिवालयमा स्कुल विभागको दावी श्रेष्ठ र पोखरेलले गरेका छन् ।
सचिवालयमा रहेका वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र बामदेव गौतमसमेत श्रेष्ठको पक्षमा छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै आएको बैठकसमेत स्कुल विभागको विवादकै कारण पार्टी कार्यालय धुम्बाराहीमा मंगलबारका लागि तय गरिएको थियो ।

