बुधबार, बैशाख १९, २०८१

दोलखा जिल्लावासीलाई माथिल्लो तामाकोशीद्धारा एम्बुलेन्स सहयोग

पुष्कर खड्का,मन्थली ।
दोलखावासीलाई माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले आयोजना प्रभावित क्षेत्र सँगै जिल्लावासीको लागी एम्बुलेन्स सहयोग गरेको छ । आयोजनाले उत्तरी क्षेत्रका विगु गाउँपालिका,गौरीशंकर गाउँपालिका,कालिन्चोक गाउँपालिका सहित दोलखाको विभिन्न विकट स्थानको जनताका लागी आइतबार एम्बुलेन्स सहयोग गरेको हो । उक्त एम्बुलेन्सको साचो विगु गाउँपालिकालाई हस्ताण्तरण गरिएको छ ।
आइतबार आयोजनाको मुख्य कार्यालय गोंगरमा कार्यक्रमको आयोजना गरि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसीङले विगु गाउँपालिका अध्यक्ष युधिष्ठिर खड्कालाई एम्बुलेन्सको साचो हस्ताण्तरण गर्नुभएको थियो ।
अन्य एम्बुलेन्सको तुलनामा आयोजनाले सहयोग गरेको एम्बुलेन्स कच्ची सडक हँुदै जिल्लाको विकट क्षेत्र सम्म पुग्ने क्षमता भएको साथै लामो समयवधि सम्म टिक्ने आयोजनाका प्रवक्ता डाक्टर गणेश न्यौपानेले जानकारी दिनुभयो ।एम्बुलेन्समा प्राथमीक उपचारका सामग्री, एक बिरामी शैया, नर्स र बिरामी कुरुवाको लागी एक एक सिटको व्यवस्था रहेको छ । एम्बुलेन्स खरिदमा नेपाल सरकारले राजश्व छुट दिने भएकोले ८७ लाख रुपैयाँमा ल्याण्ड क्रुजर भिएन नामक एम्बुलेन्स खरिद गरिएको हो । भन्सार सहित उक्त एम्बुलेन्सको नेपाली बजार मुल्य ४ करोड ८ लाख रुपैयाँ पर्ने आयोजनाका प्रवक्ता डाक्टर न्यौपानेले जानकारी दिनुभयो । विगु गाउँपालिकाका अध्यक्ष युधिष्ठिर खड्काले उक्त सुविधा सम्पन्न एम्बुलेन्समा सवारी चालकको व्यवस्था, इन्धन सहित आवश्यक मर्मतको जिम्मेवारी विगु गाउँपालिकाको भए पनि एम्बुलेन्सको प्रयोग दोलखा जिल्लावासीले गर्न पाउने बताउनुभयो । उक्त एम्बुलेन्स दोलखाको उत्तरी सिंगटीमा तयारी अवस्थामा राखीने र आवश्यकता अनुसार जिल्लाभर सेवा दिने उहाँको भनाई थियो ।
एम्बुलेन्समा सवारी चालकको व्यवस्था भइसकेको र प्रचलित दररेट अनुसार नै सेवा दिइने विगु गाउँपालिकाले जनाएको छ एम्बुलेन्स आवश्यक परेमा एम्बुलेन्स चालक रविन्द्र उप्रतिलाई सम्पर्क ९८५१२२७४०६ गर्ने सकिने छ।