Nepali date


सोमवार, माघ ६, २०७६

साताको सेयर : दुई अर्बको कारोबार

काठमाडौं । धितोपत्र बजारमा यस साता कूल १७० कम्पनीको करीब दुई अर्ब बराबरको सेयर कारोबार भयो । आर्थिक वर्ष २०७५/७६ को अन्तिम तीन दिन र चालू आर्थिक वर्षको दुई दिन खुलेको बजारमा कूल ८५ लाख ९९ हजार १७ कित्ता सेयर कारोबार भए । नेपाल स्टक एक्सचेञ्जका अनुसार चालू आर्थिक वर्ष शुरु भएपछिको दुई दिन कारोबार मापक नेप्से उतारचढावपूर्ण अवस्थामा रह्यो ।

अघिल्लो साता अर्थात् असार २६ गते बिहीबार एक हजार २४८ दशमलव ५३ मा पुगेर बन्द भएको कारोबार यस साताको पहिलो दिन अर्थात् आइतबार झिनो अंकले सुधार भयो । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ०.९५ बिन्दुले बढेर एक हजार २४९.४९ बिन्दुमा पुग्यो ।

सो दिन नेप्से सामान्य अंकले बढे पनि कारोबार रकम भने औशत मात्रै रह्यो । कूल १६१ कम्पनीको १० लाख ४२ हजार ६४६ कित्ता सेयर २८ करोड ५२ लाख १४ हजार ५७२ मूल्यमा खरीद बिक्री भए ।

सोमबार भने करीब ४३ करोडको कारोबार भयो । कूल २९ लाख ७३ हजार ८४३ कित्ता सेयर बिक्री हुँदा दोस्रो बजारमा त्यस दिन १७० कम्पनीको सेयर कारोबार भयो । मङ्गलबार पनि कूल ३४ करोडको कारोबार हुँदा १६१ कम्पनीको १९ लाख ५६ हजार ६३० कित्ता सेयर खरीद बिक्री भए ।

यस्तै बुधबार कारोबार मापक नेप्से परिसूचक लगानीकर्तालाई उत्साहित बनाउँदै दोहोरो अंकले वृद्धि भयो । सो दिन नेप्से परिसूचक १५.८५ अंकले बढेर एक हजार २४७.८६ मा पुग्यो । नेप्से परिसूचक दोहोरो अंकले बढे पनि कारोबार रकम भने औशतमै सीमित रह्यो । कूल १६७ कम्पनीका १३ लाख ७५ हजार १९० कित्ता सेयर ४२ करोड ६७ लाख ४३ हजार ४५८ मूल्यमा कारोबार भए ।

यस्तै बुधबार दोहोरो अंकले उकालो लागेर बन्द भएको बजारमा बिहीबार भने नेप्से परिसूचक २.३७ बिन्दुले घटेर एक हजार २७२.४९ बिन्दुमा पग्यो । नेप्से ओरालो लागे पनि कारोबार रकम भने औशतमा रह्यो । कूल १५८ कम्पनीको १२ लाख ५० हजार ७०८ कित्ता सेयर ४१ करोड १३ लाख ६९ हजार २९९ मूल्यमा खरीद बिक्री भए ।

बजार पूँजीकरणका आधारमा यस साता पनि वाणिज्य बैंककै बोलवाला रह्यो । पहिलो नम्बरमा नेपाल दूरसञ्चार कम्पनी कायम रहँदा नवील बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, स्ट्यार्डड चार्टड बैंक, एभरेष्ट बैंक, नेपाल लाइफ इन्स्योरेन्स, हिमालयन बैंक, एनआइसी एशिया बैंक, नेपाल एसबीआइ बैंक र कृषि विकास बैंक उत्कृष्ट दशौँ स्थानमा परे ।

यस्तै यस साता विभिन्न चार कम्पनीका सेयर स्टकमा सूचीकृत भए । त्यसमा एशियन लाइफ इन्स्योरेन्स कम्पनीको ७५ लाख ४० हजार ३५२ कित्ता हकप्रद सेयर, एनएमबी लघुवित्त वित्तीय संस्थाको दुई लाख ११ हजार ३१२ कित्ता हकप्रद सेयर, नवील ब्यालेन्स फण्डको ११ करोड २० लाख एकाइ साधारण सेयर र कुमारी बैंकको कूल एक करोड ५२ लाख २१ हजार ७८१ कित्ता सेयर लाभांश सूचीकृत भएका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: