काठमाडौं । नेपाली कांग्रेस भित्र देउवाका कटु आलोचकका रुपमा चिनिएका काँग्रेस नेता डा. शेखर कोइराला वामपन्थी इतर शक्तिबीच सहकार्य हुनुपर्ने आवाज उठाउँदै आएका छन् । देश दौडाह र राजनीतिक भेटघाटमा सक्रिय कोइरालाले शुक्रबार पूर्व पञ्चनेताहरुसँग भेट गरेर समसामयिक राजनीतिबारे छलफल गरेका छन् ।
कांग्रेस नेता शेखर कोइराला, लक्ष्मणप्रसाद घिमिरे र लोकेश ढकालले शुक्रबार बिहान पूर्व पञ्च नेता नवराज सुवेदीको निवासमै पुगेर छलफल गरेका हुन् । चावहिल कुमारीगालस्थित सुवेदी निवासमा अर्का पूर्व पञ्च नेता हरिबहादुर बस्नेत पनि छलफलमा सहभागी भएको नेता ढकालले फेसबुकमाफर्त जानकारी दिएका छन् । छलफलमा वरिष्ठ गीतकार एवं चलचित्र निर्देशक यादव खरेलको समेत उपस्थिति रहेको थियो ।
अनौपचारिक छलफलमा समकालिन नेपाली राजनीतिको विविध पक्षमा चर्चा भएको नेता लोकेश ढकालले आफ्नो फेसबूकमा लेखेका छन् ।
नेता ढकालका अनुसार, देशको प्रजातान्त्रिक आन्दोलनको धरोहर काँग्रेसको दूरवस्था, सत्ता पक्ष र सरकारको अराजनीतिक चरित्र र व्यवहार लगायत विविध पक्षमा रोचक छलफल भएको थियो ।
देशमा बढ्दो कम्युनिस्ट शक्तिका अगाडि प्रजातान्त्रिक शक्ति काँग्रेस कमजोर वन्नु, संसद र सडक दुवै कित्तामा काँग्रेसको प्रभावकारी उपस्थिति नदेखिएको भन्दै सबैले चिन्ता व्यक्त गरेको ढकालले लेखेका छन् ।