सोमबार, बैशाख १४, २०८३

विप्लव शान्तिपूर्ण राजनीतिमा आउने सुनिश्चित भएपछि वार्ता : सञ्चारमन्त्री बास्कोटा

काठमाडौं । सरकारले नेकपा शान्तिपूर्ण राजनीतिमा आउने सुनिश्चित भएपछि मात्र विप्लव समूहसँग वार्ता हुने बताएको छ ।

मुद्दा फिर्ता पक्राउ गरेका नेता कार्यकर्ता रिहा गर्नुपर्ने जस्ता शर्तहरु मानेर सरकारले विप्लव समूहले वार्ता नगर्ने सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले बताए । मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री बास्कोटाले भने, ‘वार्ताका लागि सरकार सदवै तयार छ तर, दाउपेच,शक्ति सञ्चयका लागि वार्ता हुदैन ।

पछिल्लो पटक सत्तारुढ नेकपाकै महासचिव विष्णु पौडेलले जेलमा पुगेका विप्लव समूहका नेता हेमन्तप्रकाश वली ‘सुदर्शन’लाई भेटेका थिए भने अनौपचारिक सम्वादहरु भइरहेको सत्तारुढ दलका नेताहरुले पनि स्वीकार गरेका छन् ।

तर बास्कोटाले भने हापुरेको पुनरावृत्ति हुन नसक्ने बताए । उनले भने, ‘मान्छे पहिला छोड्नुपर्ने, मुद्दा फिर्ता लिनुपर्ने, त्यसपछि उहाँहरु वार्तामा आउनु भएन भने ?’
हिंसा छाडेर शान्तिपूर्ण राजनीतिमा आउने सुनिश्चित भए वार्ता गर्ने मन्त्री बास्कोटाले प्रष्ट पारे । ‘सिके राउतको झैं शान्तिपूर्ण राजनीतिमा पार्टी दर्ता गरेर प्रतिस्पर्धा गर्ने उद्देश्यका साथ आउनुहुन्छ भने जुनसुकै बेला कुरा गर्न तयार छौं’ उनले भने ।

‘हिंसा छोडियो, संविधान मानियो, प्रतिपर्धामा आइयो’ भनेपछि सबै मिल्ने भन्दै उनले अघि भने, पहिलो केही विगारेको भए पनि भइयो नि त भन्न सकिन्छ ।