सोमबार, बैशाख १४, २०८३

लोकसेवा आयोगको विज्ञापन रद्द गर्न माग गर्दै मसाल जुलुस

काठमाडौं । लोकसेवा आयोगको विज्ञापन रद्द गर्न माग गर्दै सुरु गरिएको आन्दोलन अनुरुप आइतबार साँझ काठमाडौं उपत्यकामा मसाल जुलुस निकालिएको छ ।

‘आरक्षण बचाऔ आन्दोलन’ले घोषणा गरेको नेपाल बन्दसहितको आन्दोलन अनुरुप आइतबार काठमाडौंको सुन्धारादेखि, न्युरोड, जुद्धशालिक, असन हुँदै रत्नपार्कस्थित शान्तिवाटिकासम्म मसाल जुलुस निकालिएको हो ।

मसाल जुलुस निकाल्ने क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो । सो क्रममा दुई पक्षबीच सामान्य झडप पनि भएको थियो ।

प्रहरीले पटक–पटक मसाल जुलुस रोक्ने प्रयास गरेपछि झडपको अवस्था सिर्जना भएको हो ।
तर पनि मसाल जुलुस निकालेरै छोडेको नेपाल आदिवासी जनजाति महासंघका उपाध्यक्ष गोविन्द छन्त्यालले सार्वजनिकसँग बताए ।

सो क्रममा प्रहरीले चन्देश्वर दास नाम गरेका एक जना आन्दोलनकारीलाई नियन्त्रणमा लिएको छ । प्रहरीले आन्दोलनकारीले प्रयोग गरेको एउटा गाडी समेत कब्जा गरेको छ ।

आन्दोलनकारीहरुले ‘लालबाबु पण्डित मुर्दावाद, उमेश मैनाली मुर्दावाद, प्रहरी दमन मुर्दावाद, असमावेशी विज्ञापन खारेज गर’ लगायत नारासहित जुलुस निकालेका हुन् । शान्तिवाटिकामा आयोजित जुलुस समापन सभामा महासंघका अध्यक्ष जगत बरामले प्रहरीले नियन्त्रणमा लिएका चन्देश्वर दासलाई तत्काल रिहाई गर्न माग गरे । ‘रिहाई नगरे सरकारले ठूलो मुल्य चुकाउनुपर्नेछ, उनले भने ।

उनले आरक्षणकै कोटामा प्रहरी भएर आरक्षणकै आन्दोलनमाथि हस्तक्षेप गरेको भन्दै प्रहरीको आलोचना गरे । उनले आन्दोलनमाथि दमन गर्ने प्रयास गरे झडप मात्रै नभएर विस्फोट हुने चेतावनी दिए ।