शुक्रबार, बैशाख ०७, २०८१

सरकारबाट पेस्की लिएर बेपत्ता ठेकेदारमाथि अख्तियारको छानबिन

काठमाडौं । सरकारबाट २४ अर्ब रुपैयाँ पेस्की लिएर बेपत्ता भएका ठेकेदारमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ ।

विभिन्न विकास आयोजनाको नाममा ठेकेदारहरूले पेस्कीस्वरूप राज्यकोषबाट लिएको २४ अर्ब रुपैयाँ डुब्ने अवस्थामा पुगेको भन्दै अख्तियारले उनीहरूमाथि छानबिन थालेको हो ।

अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले ठेक्का लिएर वर्षौंदेखि काम अलपत्र पार्ने र आयोजनालाई रुग्ण बनाउने ठकेदारमाथि छानबिन थालिएको बताउनु भयो । अख्तियारले देशभरका १ हजार ८४८ वटा आयोजनाको अध्ययन गरी रुग्ण आयोजनाको पहिचान गरिसकेको छ । पहिचान गरिएका रुग्ण आयोजनामा सहभागी हुने सबैलाई कारबाहीको दायरामा ल्याइने अख्तियार प्रवक्ता कोइरालाले बताउनु भयो ।

अख्तियारका अनुसार ठेक्का सम्झौता गर्दा ठेकेदारहरुले मोविलाइजेसन कष्ट भन्दै पेस्कीस्वरूप २४ अर्ब रुपैयाँ लिएका हुन् । उनीहरूले सम्झौताबमोजिम कुनै काम नै नगरे पनि सरकारी निकायलाई गुमराहमा राख्दै २४ अर्ब रुपैयाँ आफ्नै खल्तीमा राखेको पाइएपछि अख्तियारले छानबिन थालेको हो । ठेकेदारबाट राखिएको धरौटीस्वरूपको ६ अर्ब रुपैयाँ जफत गर्न पनि सरकार असफल हुँदै आएको छ । त्यस्ता ठेकेदारमाथि पनि अख्तियारले छानबिन अघि बढाएको छ ।

सरकारले ठेक्का पूरा नगर्ने ठेकेदारबाट धरौटी रकम जफत गर्न सक्ने कानुनी प्रावधान छ । तर, सरकारी अधिकारी यो मामिलामा गैरजिम्मेवार देखिएका छन् । अख्तियारले केही समयअघि पूर्वाधार विकाससँग सम्बन्धित सातवटा मन्त्रालयअन्तर्गतका आठवटा निकाय मातहत रहेका विकास आयोजना र त्यससँग सम्बन्धित १ हजार ८४८ वटा ठेक्काका बारेमा सूक्ष्म विश्लेषण गरेको थियो । ती सबै ठेक्का सम्पन्न गर्न १ खर्ब १८ अर्ब रुपैयाँ विनियोजन गरिएको थियो । तीमध्ये १ हजार ३२ वटा ठेक्का म्याद थप नगराएर गुमनाम पारिएको छ ।