काठमाडौं । संसदीय सुनुवाइ समितिले कतारका लागि नारदनाथ भारद्वाज, स्पेनका लागि दावा फुटुङ शेर्पा, अष्ट्रेलियाका लागि महेशराज दाहाल र बंगलादेशका लागि बंशिधर मिश्रलाई राजदूत अनुमोदन गरेको छ ।
संसदीय सुनुवाइ समितिको सोमबारको बैठकले चारैजनाको नाम सर्वसम्मतले अनुमोदन गरेको हो ।
यसअघि बैठकमा अष्ट्रेलियाका लागि प्रस्तावित राजदूत महेशराज दाहाललाई अधिकांश सांसदहरुले ग्रिनकार्ड लिएको आरोप लगाएका थिए। जवाफमा नेकपा अध्यक्ष पुष्पकमल दाहालका भतिजा दाहालले आफूले अमेरिकाको ग्रिनकार्ड नलिएको स्पष्ट पारेका थिए ।
सुनुवाइ समितिमा बंगलादेशका लागि प्रस्तावित वंशिधर मिश्र र कतारका लागि प्रस्तावित नारदनाथ भारद्वाजलाई पनि सांसदहरुले प्रश्न गरेका थिए ।
स्पेनको राजदूतमा अनुमोदन भएकी ३४ वर्षीया दावा फुटुङ शेर्पा पहिलो महिला सगरमाथा आरोही पासाङ ल्हामु शेर्पाकी छोरी हुन्।

