शुक्रबार, बैशाख ०७, २०८१

टेलिकमलाई कमजोर बनाउने भन्दै मन्त्री बाँस्कोटाप्रति प्रचण्ड असन्तुष्ट

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको कामकारबाहीप्रति असन्तुष्टि जनाएका छन्।
अध्यक्ष दाहालले नेपाल टेलिकमलाई कमजोर बनाउने गरी नविकरण दस्तुर तोक्नेलगायतको काम गरिएको भन्दै मन्त्री बाँस्कोटाप्रति असन्तुष्टि जनाएका हुन्।
नेपाल टेलिकमका लागि रणनीतिक साझेदार खोज्ने काम भइरहेका बेला मन्त्री बाँस्कोटाले स्पष्ट नीति नबनाई नेपाल टेलिकमलाई नै कमजोर बनाउने गरी काम गरिरहेको अध्यक्ष दाहालको बुझाइ छ।
‘यस सम्बन्धमा आइतबार बिहान पनि मन्त्री बाँस्कोटासँग कुरा गरेको थिएँ,’ अध्यक्ष दाहालको भनाइ थियो, ‘तर नेपाल टेलिकमका कर्मचारीहरूको कुरा सुन्दा मैले फेरि मन्त्रीजीसँग छलफल गर्नुपर्ने भएको छ।’
पार्टी निकट नेपाल दूर सञ्चार राष्ट्रिय कर्मचारी संगठनको एकता महाधिवेशनलाई आइतबार काठमाडौंमा उद्घाटन गर्दै उनले नेपाल टेलिकमलाई कमजोर बनाउने गरी काम भएको हुनसक्ने आशंका गर्दै त्यस विषयमा आफूले मन्त्रीसँग पुनः छलफल गर्ने बताए।
अध्यक्ष दाहालले नेपाल टेलिकमलाई कमजोर बनाएर रणनीतिक साझेदार खोज्ने काम गरे त्यसले नेपालको राष्ट्रियतालाई कमजोर बनाउने भएकाले पनि त्यस विषयमा आफूले मन्त्री बाँस्कोटासँग गम्भीर कुरा गर्न लागेको बताए।