शुक्रबार, बैशाख ०७, २०८१

तोकिएकै समयमा १३ औं साग गर्ने राखेप नवनियुक्त सदस्य सचिव सिलवालको प्रतिबद्धता

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का नवनियुक्त सदस्य सचिव रमेश सिलवालले तोकिएकै समयमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) गर्ने चुनौती स्वीकार गरेर आफू नेतृत्वमा आएको बताएका छन् ।

तयारी नपुगेपछि सागको मिति तीन पटक सरिसकेको छ । चौथो पटक तोकिएको मिति आउन अब चार महिना मात्र बाँकी छ । त्यस्तो अवस्थामा राखेप सदस्य सचिव नियुक्त भएका सिलवालले चार महिनाभित्र साग गर्ने चुनौती स्वीकार गरेर आफूले जिम्मेवारी लिएको बताए ।

राखेप अध्यक्ष तथा युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले सोमबार सिलवाललाई राखेप सदस्य सचिव नियुक्त गरेका थिए । उनले सोमबार नै सपथ ग्रहण गरेका छन् ।

लगत्तै सञ्चारकर्मीहरुसँग कुरा गर्दै सिलवालले भने, ‘साग तीन पटक सर्‍यो । अब सर्नु हुँदैन ।’ सागका लागि चार महिना बाँकी रहेको र त्यसमध्ये दुई महिना वर्षायाम रहेको भन्दै उनले क्यालेन्डर बनाएर काम नगेर सम्भव नभएको बताए ।

तर यो चुनौती स्वीकार गरेर आफू राखेपमा आएको भन्दै उनले बोलेर भन्दा एक्सनबाट विश्वास दिलाउने बताए ।