मङ्गलबार, असार १६, २०८३

प्रधानमन्त्रीलाई नेवि संघको प्रश्न: यस्तो राष्ट्रवाद कहिलेसम्म ?

काठमाडौं । सरकारले परिक्षण नगरि भारतबाट विषादीयुक्त तरकारी र फलफूल भित्र्याउन अनुमति दिएको भन्दै नेपाल विद्यार्थी संघ (नेविसंघ)ले विरोध जुलुस निकालेको छ ।

नेविसंघले वाल्मिकी क्यामपसबाट विरोध जुलुस निकालेको हो । जुलुस नेविसंघका निवर्तमान उपाध्यक्ष डिल्लीराम सुवेदी, महामन्त्री कुन्दन काफ्ले र नेता राम प्रसाद अधिकारी लगायतका नेताहरुको अगुवाइमा भएको थियो ।

जुलुसमा नेविसंघ नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राष्ट्रवाद कता हरायो ? भन्ने प्रश्न गरेका थिए । उनिहरुले तरकारी मार्फत जनतालाई बिष खुवाउने कार्य बन्द गर्न माग गरेका थिए । विद्यार्थीहरुले अनुमती बिरुद्धका विभिन्न प्ले कार्ड बोके‍र प्रदर्शन गरेका थिए ।

भारतको दबावपछि सरकारले भारतबाट आयात हुने तरकारी र फलफुलको विषादी परीक्षण स्थगित गरेको थियो। बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले आधुनिक प्रयोगशाला नभएको भन्दै विषादी परीक्षण नगर्ने निर्णय गरेको थियो।

दुई साताअघि उद्योग तथा वाणिज्य मन्त्रालयको प्रस्ताव गरेपछि मन्त्रिपरिषद्‌बाट विषादी परीक्षण गर्ने स्वीकृत भएको थियो।