बिहिबार, बैशाख १३, २०८१

प्रलोभनमुक्त बन्न प्रहरीलाई आइजीपी सर्वेन्द्र खनालको निर्देशन

चितवन । प्रहरी महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनालले प्रलोभनमुक्त प्रहरी बन्न निर्देशन दिनुभएको छ । प्रभाव र प्रलोभनले व्यावसायिक जीवन धूमिल पार्ने हुँदा यसतर्फ सचेत रहन आइजीपी खनालले निर्देशन दिनुभएको हो ।

जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरका प्रहरी सहायक निरीक्षक आधारभूत तालीम १७५औँ समूहको दीक्षान्त समारोहमा बोल्दै आइजीपी खनालले भन्नुभयो, ‘प्रभाव र प्रलोभनले व्यावसायिक जीवन धूमिल पार्छ, हुँदा यसतर्फ सचेत भई प्रभाव र प्रलोभनमुक्त बन्नोस ।’ खनालले प्रहरीको सामान्य त्रुटी वा कमजोरीको मुल्य राष्ट्रले चुकाउनु पर्ने भन्दै हरपल सजग र सचेत रहनुपर्ने आवश्यकता पनि औल्याउनु भयो ।

सो अवसरमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जका कार्यकारी निर्देशक पुष्कर कार्कीले बफादारीका साथ सङ्गठनको गरीमा बढाउन दीक्षित भई जानलागेका प्रहरी अधिकृतहरुलाई निर्देशन दिनुभयो । कार्यक्रममा शिक्षालयका निर्देशक प्रहरी नायब महानिरीक्षक हरिभक्त प्रजापतिले २१ महिलासहित ३०५ जना दीक्षित भई कार्यक्षेत्रमा जान लागेको जानकारी दिनुभयो ।

हालसम्म शिक्षालयबाट एक हजार ८२९ प्रहरी सहायक निरीक्षक दीक्षित भइसकेका छन् । सो अवसरमा विभिन्न विधामा उत्कृष्ट प्रशिक्षार्थी एवं प्रशिक्षकलाई सम्मान एवं पुरस्कृत गरिएको थियो ।