सोमबार, बैशाख १४, २०८३

पितृसत्तावादी संस्थाहरु खारेज गर्न सांसद पम्फा भुसालको माग

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीकी सांसद पम्फा भुसालले राज्य श्रोतबाट सञ्चालित पितृसत्तावादी संस्थाहरु खारेज गर्न माग गरेकी छन् ।

प्रतिनिधिसभाको आईतबारको बैठकको विशेष समयमा बोल्दै उनले राज्य सञ्चालनको नयाँ व्यवस्था आईसक्दा पनि मुलुकमा पितृसत्तावादी र सामन्ती परिपाटी विद्यमान रहेको भन्दै सैनिक श्रीमती संघ, नेपाल प्रहरी श्रीमती संघ, प्रहरी परिवार श्रीमती संघ, निजामति कर्मचारी श्रीमती संघ जस्ता श्रीमान्को हैसियतको आधारमा बनेका संस्थाहरु खारेज गर्न माग गरिन् ।

‘श्रीमानका आधारमा श्रीमतीले सुविधा लिने । परिवारका नाममा परिवारका सदस्यले सुविधा लिने व्यवस्थाको हामीले अन्त्य गरेका हौँ’ भुषालले भनिन्, ‘राष्ट्रप्रमुख,शासन प्रमुखसँग सम्बन्ध गाँसेवापत महारानी हुने, उनका छोराछोरीहरु युवराज युवराज्ञी हुने र नागरिक भन्दा माथि हुने व्यवस्थाको हामीले अन्त्य गरेका छौ । तर अहिले पनि यो देशमा महत्वपुर्ण निकायहरुमा त्यो परिपाटी विद्यमान छ । म त्यसको अन्त्य गरियोस् भन्ने चाहन्छु ।’

उनले गणतन्त्रसँग मेल नखाने राज्यकै बजेटबाट सञ्चालन भईरहेका संघ संस्थाहरु तत्काल खारेज गर्नुपर्ने माग गरिन् । काँग्रेसका सांसद दिलेन्द्र प्रसाद बडूले सरकारले सत्ता र शक्तिको भरमा अपराधीलाई संरक्षण दिने काम गरेको भन्दै गम्भीर आपत्ती जनाए ।

उनले हालै प्रहरी नियन्त्रणमा रहेका कपिलवस्तुका नसिम अहमद खान वादशाह नेकपाका संगठित सदस्य भएको भन्ने आएको भन्दै यथार्थ जानकारी गराउन माग गरे ।

साथै वादशाहकी श्रीमती प्रदेश नम्बर ५ मा नेकपाकै समानुपातिक सांसद भएको तथा उनको दुईवटा नागरिकता भएकोमा कपिलवस्तुमा मुद्दा चलिरहेको भन्दै यसबारे प्रधानमन्त्री, गृहमन्त्री र नेकपाका अध्यक्षको ध्यानाकर्षण गराए ।

राजपाका सांसद लक्ष्मण लाल कर्णले गिरिशचन्द्र लाल आयोगको प्रतिवेदन सार्वजनिक नभए सदनबाटै प्रतिकारमा उत्रने चेतावनी दिए । उनले संसदमा आफुहरुले उठाएको सवालमा सभामुखको रुलिङपछि प्रधानमन्त्रीले लाल आयोग प्रतिवेदन सार्वजनिक गर्ने प्रतिवद्धता जाहेर गरेर पनि अहिले सम्म सार्वजनिक नभएको भन्दै संसदको कारवाही अवरुद्ध गराउने स्थिति श्रृजना नगर्न पुनः सरकारको ध्यानाकर्षण गराए ।