शुक्रबार, चैत १६, २०८०

सरकारको विरोध गर्न मास्क लगाउन थाले : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको काम देखेर मानिसहरु अताल्लिन थालेको दाबी गरेका छन् । प्रधानमन्त्री रोजगार, कृषिमा आधुनिकीकरण, जेष्ठ नागरिक बीमा लगायतका कार्यक्रम सुरु गर्दा सरकार अझै सफल हुने भयो भनेर मानिसहरु अताल्लिन थालेको उनको विश्लेषण छ ।

देवेन्द्र पराजुली, कल्पना धमलालगायतका समाजवादी पार्टीका नेताहरुलाई पार्टी प्रवेश गराउन शुक्रबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकारको बचाउ गरे । सरकारका आलोचकलाई खासै केही भन्नु नरहेको भन्दै उनले अघि भने, ‘चुनाव पनि नजित्नु, आलोचना गर्न नपाउनु पनि हुन्छ ? हुँदैन ।

उनले काठमाडौंमा मास्क लगाउन नपर्ने आफ्नो अभिव्यक्तिको पनि बचाउ गरेका छन् । आफूले प्रधानमन्त्री भएको बेला काठमाडौंमा मास्क नलगाई हिँड्नै नसक्ने अवस्था रहेको तर अहिले त्यसमा सुधार आएको भनेको भन्दै उनले भने, ‘अहिले मास्क नलगाएर पनि हिँड्न सकिन्छ । यसलाई सुधार गर्दैछौं भनेको थिएँ ।’

त्यसपछि सरकारको विरोधका लागि केहीले मास्क लगाउन थालेको उनले बताए । प्रधानमन्त्री ओलीले भने, ‘मास्क लगाउने बानी गर्दा राम्रै हुन्छ । मेरो रिसले भए पनि मास्क लगाइदिनुहोला । यसले बाटो सफा गर्ने हाम्रो काम रोकिँदैन । प्रधानमन्त्री ओलीले केही दिनअघि आफू प्रधानमन्त्री हुँदा आधा मानिसले मास्क लगाउने गरेको तर, हटेको दाबी गरेका थिए, जसको चर्को आलोचना भएको थियो ।

उनले मुलबाटो मात्र पिच गर्दा सहायक सडकहरुबाट धुलो आउने गरेको भन्दै सिंगो काडमाडौैं उपत्यकालाई कालोपत्रमय बनाउन जरुरी रहेको बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आईफा अवार्डलाई लिएर भएको आलोचना प्रति असन्तुष्टि जनाए ।

२० लाख पर्यटक भित्र्याउने सरकारको योजना असफल बनाउन आईफा अवार्डबारे अनावश्यक हल्ला चलाइएको उनको दाबी छ । उनले भने, ‘थोरै लगानीमा धेरै प्रतिफल पाउने गरी निर्णय गरिएको थियो तर अर्बौं खर्च भनेर हावा कुरा गरियो ।

सरकार सम्झौता पूर्व सौदाबाजीमा रहेकै बेला ‘लौ सर्वनाश हुने भो’ भनेर संसदीय समितिमार्फत अनधिकृत निर्देशन दिन लगाइएको समेत उनको आरोप छ ।