काठमाडौं । संखुवासभामा नेत्रविक्रम चन्द विप्लव समूहका कार्यकर्ता र प्रहरीबीच गोली हानाहान भएपछि घटनास्थलतर्फ थप सुरक्षाकर्मी पठाइएको छ ।
नेपाली सेनाको एमआई १७ हेलिकप्टरबाट थप सुरक्षाकर्मी परिचालन गरिएको हो ।
संखुवासभाको सिलिचुङ गाउँपालिका–१ होयाङग्लामा गस्तीमा रहेको प्रहरी टोलीमाथि विप्लव समूहका कार्यकर्ताले फायरिङ गरेपछि भिडन्त हुन पुगेको थियो ।
यद्यपि दुबै पक्षतर्फ कुनै क्षति नभएको भएपनि सो क्षेत्रमा विप्लव समूहको गतिविधि बढेको निश्कर्षसहित सुरक्षाकर्मी परिचालन गरिएको हो ।
प्रहरी स्रोतका अनुसार नेपाली सेनाको हेलिकप्टरसहित प्रहरी निरीक्षकको कमाण्डमा २५ जनाको टोली घटनास्थलमा परिचालन गरिएको छ ।
यता सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा पनि २५ जनाको टोली खटाइएको छ ।

