सोमबार, बैशाख १४, २०८३

रामेछापमा मदन भण्डारीको ६८ औं जन्मजयन्तीको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

रामेछाप,पुष्कर खड्का । जननेता मदन भण्डारीले ल्याएको जनताको बहुदलिय जनवादका कारण नेपालमा कम्युनिष्टहरुको संख्या ह्वात्तै बढेको नेकपाका नेताहरुले बताएका छन् ।
रामेछापमा ६८ औं मदन भण्डारी जन्मजयन्तिको सन्दर्भमा नेपालमा कम्युनिष्ट आन्दोलन र मदन भण्डारीको योगदान विषयक अन्तरक्रिया कार्यक्रममा शनिबार बोल्दै नेताहरुले सो कुरा बताएका हुन् ।
मदन भण्डारी फाउण्डेशन शाखा रामेछापले जिल्ला सदरमुकाम मन्थलीमा आयोजना गरेको अन्तरक्रिया कार्याक्रममा बोल्दै नेकपाका केन्द्रिय सदस्य कमल कोइरालाले विश्वमा कम्युनिष्ट आन्दोलन संकटमा पर्न लागेको बेला नेपालमा मदन भण्डारीले ल्याएको वहुदलिय जनवादले विश्व कम्युनिष्ट आन्दोलनमा नै एउटा तरंग ल्याइदिएको बताए । नेकपाका केन्द्रिय सदस्य देवशंकर पौडेले मदन भण्डारीले देखाएको आदर्शले नेपालमा कम्युनिष्ट चम्किएको बताए । नेकपा रामेछापका जिल्ला अध्यक्ष मैनकुमार मोक्तानले मदन भण्डारीको बिचारले नेपालको कम्युनिष्टलाई नयाँ उचाइमा पुर्याएको बताए ।
प्रदेश नं ३ का सांसद एवं नेकपा रामेछापका जिल्ला सचिव शान्तिप्रसाद पौडेलले मदन भण्डारीले समाजलाई विभिन्न कोणबाट विश्लेषण गरि जनताको वहुदलिय जनवाद ल्याएकोले त्यसले विश्वमानै एउटा आयाम ल्याएको बताए ।
संविधानसभाका सदस्य तारानारायण श्रेष्ठले नेपालमा मदनभण्डारीको उदय पछि कम्युष्टिहरु हजारौँ गुणाले बढेको बताए । फाउण्डेशनका रामेछाप जिल्ला अध्यक्ष प्रकाश कुमार कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न वक्ताहरुले नेपालको कम्युनिष्ट आन्दोलनमा मदन भण्डारीको योगदानको बारेमा बोलेका थिए ।