काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर द्वन्द्वकालीन मुद्दा छिटो टुंग्याउन सहयोग मागेका छन् ।
अध्यक्ष दाहाल र सभापति देउवाबीच ललितपुरको होटल समिटमा बिहीबार द्वन्द्वकालीन मुद्दा कसरी छिटो टुंग्याउन सकिन्छ भन्नेबारे एक घन्टा छलफल भएको थियो।
छलफलमा सहभागी कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकका अनुसार प्रचण्डले देउवासँग द्वन्द्वकालीन मुद्दा छिटो टुंग्याउने सहयोग गर्नुपर्ने बताएका थिए ।
‘उहाँहरुबीचको छलफल द्वन्द्वकालीन मुद्दा छिटो टुंग्याउनेमै केन्द्रीत रह्यो, उनले भने,अरू विषयमा खासै छलफल भएन ।
द्वन्द्वकालीन मुद्दा कसरी द्वन्द्वपीडित, मानव अधिकारकर्मी र अन्तराष्ट्रिय समुदायलाई मान्य हुने गरी टुंग्याउन सकिन्छ भन्नेबारे देउवा र दाहालले छलफल गरेको लेखकले जानकारी दिए ।
यसअघि गत जेठ २२ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संक्रमणकालीन न्यायसम्बन्धी आयोगबारे देउवा र दाहालसँग छलफल गरेका थिए ।
उक्त छलफलमा सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगमा पदाधिकारी नियुक्त गर्ने विषयमा कुरा भएको थियो ।

