काठमाडौं । महिलामाथि श्रृखलावद्ध शंकास्पद ‘सिरिञ्ज’ आक्रमण भएपछि आतंक मच्चियो । आक्रमणमा संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ परेका व्यक्ति सन्तोष कार्कीले आफूले ‘सिरिञ्ज’ प्रहार नगरेको बयान दिएका छन् । साथै, उनले ढल्कु र पकनाजोल क्षेत्रको घटनामा आफ्नो संलग्नता पनि स्वीकार गरेका छन् ।
मैले सिरिन्ज हानेको होइन, ढलानको काँटीले घोचेको हुँ’ पक्राउ परेपछि प्रहरी अधिकारीसँग बयान दिँदै उनले भनेका छन् । उनले आफूले मजाकका लागि घोचेको बताएका छन् । रोग सार्ने नियतले आक्रमण गरेको हुनसक्ने आशंकामा पीडित महिलाहरुलाई एचआईभीविरुद्धको एआरटी औषधी चलाइएको छ भने हेपाटइटिसविरुद्ध भ्याक्सिन पनि दिइएको छ ।
काठमाडौं प्रहरी परिसर, टेकुका एक अधिकृत भन्छन्, ‘उनले रोग सार्ने नियतले आक्रमण नगरेको पनि बताएका छन् ।’ प्रहरी अधिकृतले युवतीलाई आक्रण भएको क्षेत्रमा जडान गरिएका सीसी टीभीबाट फुटेज निकालेर अनुसन्धान थालेको थियो ।
सिरिञ्ज आक्रमणका घटना देखिए पनि अभियुक्त पक्राउ परेकाले अब सर्वसाधारणले त्रासमा रहनुपर्ने अवस्था नरहेको नेपाल प्रहरीले आश्वस्त पारेको छ ।

