मङ्गलबार, बैशाख ०४, २०८१

चीनको सहायतामा नेपालमा पहिलोपटक पेट्रोलियम पदार्थ अन्वेषणको काम सुरु

काठमाडौं । नेपालमा पहिलोपटक पेट्रोलियम पदार्थ अन्वेषणको काम सुरु गर्ने भएको छ । चीनले यसका लागि झण्डै डेढ दर्जन चिनियाँ विज्ञ र प्राविधिक टोली नेपाल आइसकेका छन् ।

खानी तथा भूगर्भ विभागका प्राविधिकसहित चाइना जियोलोजिकल सर्भेको टोलीले शुक्रबार दैलेख पुगेर पेट्रोलियम अन्वेषण सुरु गर्न लागेको हो । तीनवटा फरक-फरक टोली बनाएर विभिन्न स्थानमा अन्वेषणको काम थालिने खानी तथा भूगर्भ विभागका महानिर्देशक सोमनाथ सापकोटाले जानकारी दिए ।
नेपाल-चाइना पेट्रोलियम ग्यास तथा तेल स्रोत सर्भे’का लागि गत फेब्रुअरी २८ मा भूगर्भ विभाग र चाइना जियोलोजिकल सर्भेबीच सम्झौता भएको थियो । यो सम्झौता अवधि तीन वर्षको छ । चीनको बिज्ञ टोलीले पहिलो चरण (१० महिना) मा तानसेन तथा दैलेख क्षेत्रमा भौगर्भिक तथा पेट्रेलियम सर्भेसहित दैलेखमा डि्रलिङ साइट पहिचानको काम गर्ने छ ।

योजनाअनुसार दोश्रो चरण (११ देखि २८ महिना) मा दैलेख क्षेत्रमा ड्रिलिङ कार्य सम्पन्न गरिनेछ । तेश्रो चरणमा (२९ देखि ३६ महिना) मा नेपालमा समग्र पेट्रोलियम भौगर्भिक अवस्थावारे अध्ययन भई सर्भे प्रतिवेदन प्राप्त हुने विभागमा महानिर्देशक सापकोटाले बताए ।

‘यो तीन वर्षमा हामी तोकिएको क्षेत्रहरुमा पेट्रोलियम खानीको अन्वेषण गरेर व्यवसायिक उत्पादनको सम्भाव्यता छ/छैन भन्ने टुंगो लगाउँछौं,’ उनले भने,’निकै जटिल भए पनि तोकिएको अवधिमा काम सक्न प्रतिवद्ध छौं ।
तीन वर्षमा पूरा हुने अपेक्षा गरिएको अन्वेषणमा लाग्ने सबै खर्च चिनियाँ पक्षले नै व्यहोर्ने छ । खर्च कति लाग्छ भन्ने अहिल्यै आकलन गर्न नसकिने खानी तथा भूगर्भ विभागका महानिर्देशक सापकोटाको भनाइ छ ।
सरकारले गत माघमा नै चीनलाई नेपालका दुईवटा क्षेत्रमा पेट्रोलियम तथा ग्यास खानीबारे विस्तृत अन्वेषण गर्न दिने सम्वन्धी परियोजनालाई स्वीकृत गरेको थियो । ०७२ को चैतमा नै यो कामका लागि चीन र नेपालबीच प्रधानमन्त्रीस्तरमा द्विपक्षीय समझदारी भएको थियो ।