टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए ) एसिया प्याशिफिकको सातौ तथा महिलाहरुको दोस्रो क्षेत्रीय सम्मेलनको तयारी पूरा भएको छ ।
म्यानमारमा आगामी जुलाई ६ र ७ तारिखमा हुन गइरहेको सम्मेलनको लागि अतिथि तय गर्नेदेखि सम्मेलनको लागि आवश्यक तयारी पूरा भएको हो ।
एनआरएनए एसिया प्याशिफिक संयोजक किरण विक्रम थापाका अनुसार सम्मेलनमा तयारी पूरा भएको र सम्मेलनमा ५ सयको हाराहारीमा सहभागिता हुने जानकारी दिनु भएको छ । सम्मेलनमा एनआरएन संस्थापक अध्यक्ष उपेन्द्र महत्तो, वर्तमान अध्यक्ष भवन भट्ट, पदाधिकारीहरु, विभिन्न क्षेत्रका क्षेत्रीय पदाधिकारीहरु, एसिया प्याशिफिकका विभिन्न एनसिसीका प्रतिनिधिहरु लगाययतको सहभागिता रहनेछ । विगतमा भन्दा निकै सक्रिय बन्दै आएको क्षेत्रीय समितिले वर्षौपिच्छे सम्मेलन आयोजना गर्ने कार्यलाई निरन्तरता दिएको संयोजक थापाले जानकारी गराउनुभयो ।
सम्मेलनमा विगतको सम्मेलनमा पारित गरिएका प्रस्तावको समिक्षा गर्दै आगामी कार्यदिशा तय गर्ने, एसिया प्याशिफिकमा संगठन विस्तारदेखि लिएर पञ्जीकृत सदस्य विस्तार अभियानमा समेत निकै सक्रियता देखिएको छ । एसिया प्याशिफिकमा १० वटा एनसिसी रहेका छन् ।
सम्मेलन विशेष गरि प्रवासमा बस्ने नेपालीको ज्ञान, सिपलाई कसरी मुलुकको सम्मृद्धिमा उपयोग गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित गरिनेछ’, संयोजक थापाले भन्नुभयो‘सम्मेलन क्षेत्रीय मात्र नभई महिलाहरुको लागि महत्वपूर्ण हो । गत वर्षबाट पहिलो पटक सुरु गरिएको महिलाहरुको क्षेत्रीय सम्मेलन यो वर्ष पनि सम्पन्न गर्दै महिलाहरुको सक्रियतालाई थप सहयोग पुर्याएको संयोजक थापाले बताउनु भयो ।

