शनिबार, बैशाख ०८, २०८१

विप्लव नेतृत्वको नेकपाको नेपाल बन्दले देशभरको जनजिवन प्रभावित

काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दले बिहानैदेखि देशको जनजिवन प्रभावित भएको छ । बन्दका कारण लामो तथा छोटो दुरीमा सवारी साधन चल्न सकेका छैनन् । बजार, कलकारखाना, शैक्षिक संस्था पनि बिहानैदेखि ठप्प भएका छन् ।

देशका विभिन्न ठाउँमा बम विस्फोट र शंकास्पद बस्तु फेला परेका छन् । सल्यान कुमाख गाउँपालिकाको बडागाउँमा गएराती बम विस्फोट भएको छ ।

अर्घाखाँचीको छत्रदेब गाँउपालिका वडा न ५ र ७ मा र मालारानी गाँउपालिका वडा न १ को वडा कार्यालयमा शकास्पद बस्तु फेला परेको छ । पोखरा बिरौटामा बम फेला परेको छ भने यहाँ डिस्पोजल टीम आउदै गरेको प्रहरीले जनाएको छ । त्यसैगरी नयाँबजारको ओम शान्ति अगाडी पनि शंकास्पद बस्तु फेला परेको छ । स्याङ्जाको मिर्मी चोकमा शंकास्पद बस्तु फेला परेको प्रहरीले जनाएको छ ।

आज बिहान करिब साढे ६ बजेतिर शंकास्पद बस्तु देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । अहिले प्रहरीले प्रेसर कुकरलाई घेरा हाली सुरुक्षा दिएको छ भने आसपासको सबै पसल बन्द गरिएको छ ।

रामेछापको सदरमुकाम मन्थली नजिकै ग्यास सिलिण्डर पड्किएको छ । बन्दको पूर्व सन्ध्यामा गएराति २ बजेतिर मन्थली बसपार्क भन्दा केही माथिको पाखामा उक्त विष्फोट गराएको हो । जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार टायरमाथि ग्यास सिलिण्डर राखेर आगो लगाएर विष्फोट गराएका थिए ।

झापाको भद्रपुर नगरपालिकामा प्रेसर कुकर बम भेटिएको छ । नगरपालिका कार्यालय परिसरमा एक झोलामा सोमबार बेलुका रिमोट कन्ट्रोलसहितको प्रेसर कुकर बम फेला परेको थियो । शंकास्पद झोला मेयर र उपमेयरको कार्य कक्ष चढ्ने सिढीको तल राखिएको भेटिएको हो ।

सेनाको टोली पुगी राति करिब ११ दुई पटक बिस्फोट गरेर प्रेसर कुकर बम निस्क्रिय पारेको थियो । बम निस्क्रिय पार्ने सेनाको टोलीकाअनुसार रिमोट कन्ट्रोलसहितको प्रेसर कुकरभित्र ६ वटा डेटोनेटर थिए ।

बर्दियामा दुई वटा प्रेसर कुकर बम फेला परेको छ । सदरमुकाम गुलरिया नगरपालिकास्थित हुलाकी मार्ग अन्र्तगत डिभिजन बन कार्यालयनजिक तथा पूर्व–पश्चिम राजमार्ग अन्र्तगत कर्त्निया चोकमा कुकर बम भेटिएका हुन् । यसरी बन्दलाई लक्षित गर्दै सडकमा विप्लवका कार्यकर्ताले बम राखेको हुनसक्ने प्रहरीको आशंका छ ।

विप्लव नेकपाले आफ्ना सर्लाही जिल्ला इञ्चार्ज कुमार पौडेल हत्याको विरोधमा आज एक दिन नेपाल बन्द आहृवान गरेको हो । पौडेल गत असार ५ गते प्रहरीको गोलीबाट मारिएका थिए । प्रहरीले मुठभेडका क्रममा पौडेल मारिएको बताए पनि विप्लव नेकपाले प्रहरीले नियन्त्रणमा लिएर गैरन्यायिक हत्या गरिएको भन्दै सरकारको आलोचना गरेको छ । यो हत्या प्रकरणमा विप्लवसँगै सत्तारुढ तथा विपक्षी दलका नेताले समेत सत्यतथ्य छानबिन गर्न माग गरेका छन् ।