बिहिबार, बैशाख ०६, २०८१

एनआरएनए आइसीसी सम्मेलन: अध्यक्षमा भट्ट र पन्तबीच प्रतिस्पर्धा हुने पक्का

जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौ विश्व सम्मेलन नजिकिँदैछ । सम्मेलन आगामी अक्टोबर १३ देखि १६ सम्म काठमाडौंमा हुँदैछ । सम्मेलनको मिति नजिकिँदै गर्दा एनआरएनए आइसीसीमा नेतृत्वका लागि आ–आफ्नो दावी आउन थालेको छ ।

आठौँ विश्व सम्मेलनले अध्यक्षमा भवन भट्टलाई निर्वाचित गरेको थियो । भट्ट कार्यकालको अन्तिम समयमा छन् । अहिले विभिन्न ८० वटा मुलुकहरूमा आफ्‍नो संस्था विस्तार गरेको एनआरएनए राष्ट्रिय समन्वय परिषद्ले अधिवेशन गर्दै नयाँ नेतृत्व चुनिरहेका छन् । एनआरएनए एनसीसीमा सबैभन्दा पहिला एनआरएनए अमेरिकाले निर्वाचन गरेर नयाँ नेतृत्व छानिसकेको छ ।

यसैक्रममा एनसीसी निर्वाचन सकिन नपाउँदै आइसीसीको नेतृत्वका लागि आकांक्षीहरुले आ–आफ्नो दावेदारी प्रस्तुत गर्न थालेका छन् । आगामी कार्यकालका लागि नयाँ नेतृत्व लिन हङ्कङमा भएको एनआरएनए क्षेत्रीय भेला, अस्ट्रेलियामा सम्पन्न ओशेनिया क्षेत्रिय भेला भित्रभित्रै माहौल सुरु भएपनि अहिले सतहीरुपमा आकांक्षीहरु बाहिर देखिन थालेका छन् । योसँगै नेतृत्वका लागि दाबेदारी दिनेहरू बढिरहेका छन।

अघिल्लो कार्यकालमै अध्यक्षका दाबेदार रहेका वर्तमान उपाध्यक्ष कुमार पन्तले आफु सर्वसम्मत अध्यक्षको हकदार भएको बताउँदै आएपनि वर्तमान अध्यक्ष भट्टले आफूले शुरु गरेका कार्यहरू बाँकी रहेका भन्दै अझै एक कार्यकाल अध्यक्ष दोहोर्‍याउने आन्तरिक तयारीमा रहेका छन् । यसअघि जापानबाटै अध्यक्ष बनेका देवमान हिराचनले पनि आफूले सुरु गरेको परियोजना नसकिएको भन्दै दोस्रो कार्यकालको दावी गरेका थिए । यद्यपि उनले कुनै परियोजना भने सुरु गरेका थिएनन्। अहिले त्यही अवस्था रहेको गैरआवासीय नेपालीहरु बताउँछन्।

केही समय पहिले एनआरएनएको विज्ञ सम्मेलनमा एनआरएनएको २ वर्षे कार्यकाल बढाएर ३ वर्षे कार्यकाल बनाउन वर्तमान अध्यक्ष भट्टले प्रस्ताव गरेका थिए । तर, उनको प्रस्तावलाई पूर्व अध्यक्ष जीवा लामिछानेको दबाबमा पारित हुन दिइएको थिएन । त्यसपछि वर्तमान अध्यक्ष भट्ट आफू अब एक कार्यकाल अध्यक्ष बन्ने सोचाइमा रहेको भट्टको सल्लाहकार समूहका एक सदस्यले बताए ।

यता दोश्रो कार्यकाल उपाध्यक्ष बनिसकेका पन्तले आफूले उल्लेख्य कार्य गरेर आम एनआरएन र नेपालीहरूको मन जितेको बताउँदै आएका छन् । एनआरएनएका अध्यक्ष भट्टले अझै एक कार्यकाल दोहोर्‍याउने आकांक्षा खुलेर राख्न थालिसकेका छन् ।

भट्टको पुन:अध्यक्ष पद दोहोर्याउने ईच्छालाई उपाध्यक्ष पन्त र उनका समर्थकरुले स्वीकार्न तयार देखिएका छैनन् । वर्तमान अध्यक्ष भट्ट आफ्नो कार्यकालमा धेरै कामहरू गरेको बताउँछन । आफ्‍नो कार्यकालमा शंखमुल पार्कको निर्माण सम्पन्नदेखि एनआरएनए भवन निर्माण सम्पन्न र लाप्राक बस्ती निर्माण सम्पन्न जस्ता ठूला काम गरेर आफू सफल अध्यक्षको रुपमा उभिएको उनले दावि गरेका छन् ।

यता एनआरएनएको चुनाव नजिकिदै गर्दा आकांक्षी उम्मेदवारहरु आन्तरिक तयारीमा जुटेका छन् । यसपटक उपाध्यक्षको संख्या बढाएसंगै उपाध्यक्षमा धेरैले दावी गरिरहेका छन । यसपटक उपाध्यक्षमा हालका उपाध्यक्ष कुल आचार्यले पुनः दोहोर्‍याउने सम्भाबना रहेको छ । आचार्य अध्यक्षको दाबेदारीमै रहेपनि अन्तमा उपाध्यक्षमै रहने सम्भाबना बढेको छ ।

उपाध्यक्षमा वर्तमान उपाध्यक्ष सपिला राजभण्डारी, महासचिब डा.बद्री केसी, ओशेनिया संयोजक धर्मराज अधिकारी, एशिया संयोजक किरण थापा, अमेरिकाका पुर्व क्षेत्रीय संयोजक सोनाम लामालगायत उम्मेदवार रहने जनाएका छन् । यस्तै महासचिबमा वर्तमान सचिवमा डीबी छेत्री, एनआरएनए अमेरिकाका निवर्तमान अध्यक्ष डा.केशव पौडेललगायतले आकांक्षा देखाएका छन् । सचिवमा एनआरएनए युरोप संयोजक शिव बरुवाल, एनआरएन अमेरिकाका क्षेत्रीय संयोजक गौरीराज जोशी अगाडि जान आकंक्षा राखेका छन् ।

त्यसैगरी काेषाध्यक्षमा वर्तमान सहकोसाध्यक्ष सोम सापकोटा,आइसीसी सदस्य महेश श्रेष्ठ र मध्यपुर्ब संयोजक आरके शर्माको नाम अगाडी आएको छ । एनआरएनएको अभियानमा अर्को परिचित अनुहार एसी शेर्पा सहकोषाध्यक्षमा उम्मेदवारी दिने तयारीमा छन् ।

एनआरएनए अध्यक्षमा भवन भट्टले जापान भ्रमनमा आएको वेला उपाध्यक्ष कुमार पन्तलाई एक पटक सर्पोट गर्न अनुरोध गरेको बुझिएको छ