Nepali date


मङ्लबार, कार्तिक ५, २०७६

पोखरामा पौडी पोखरी निर्माणको लागि साढे दुई करोड रुपैयाँ

पोखरा । पोखरामा पौडी पोखरी निर्माणको लागि साढे दुई करोड रुपैयाँ छुट्टाइएको छ ।
सरकारले पनि पौडी पोखरी निर्माणको लागि रातो किताबमै उल्लेख गरी बजेट समेत छुट्टाएको हो ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने जिम्मेवार गण्डकी प्रदेश खेलकुद परिषदको काँधमा छ । त्यस भन्दा अघि पोखरामै सागका केही खेल समापन गरिने छ । सागको लागि पुर्वाधार निर्माण गरिएको छ । गण्डकी प्रदेशले आयोजना गर्ने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि स्वीमिङ पुल(पौडी पोखरी) निर्माणलाई प्राथमिकतामा राखेको छ ।
‘पौडी पोखरी बनाउन रातो किताबमा उल्लेख छ । साढे दुई करोड छुट्टाएको छ । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठले भने–श्रावणमा बजेट आउने अपेक्षामा छौं । त्यसपछि टेण्डर प्रक्रिया गरेर काम अगाडि बढाउँछौं ।
गण्डकी प्रदेशले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्ने मिति भने २०७७ फागुन २० देखि २७ गतेसम्म तय गरिएको छ । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति पोखराले पुर्वाधार विभिन्न शीर्षकमा बजेटको लागि प्रस्ताव समेत गरेको छ । जग्गा पोखरा रंगशाला परिसरभित्रै छुट्टाइएको छ । पौडी पोखरी निर्माण नभएको अवस्थामा निजी क्षेत्रका स्वीमिङ पुलमै पौडी प्रतियोगिता टुग्याउनुपर्ने बाध्यता छ । जुन नेपालगन्जमा देखिएको थियो ।

राष्ट्रिय खेलकुद परिषदले पोखरा रंगशालाभित्रको ४१५ रोपनी जग्गामा विभिन्न खेलकुदका भौतिक पुर्वाधार निर्माण गरेको छ । गुरुयोजना अनुसार जग्गा छुट्टाइएको छ । छुट्टाइएको जग्गामा पौडी पोखरी निर्माण गर्न पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति पोखराले परिषदसँग ४० करोडको बजेटको अनुमानित गरेको थियो । ‘रंगशालाको बनाइएको गुरुयोजना अनुसार भलिबल कोर्टभन्दा माथिल्लो भाग जग्गा छुट्टाइएको छ ।’ उनले भने–‘अहिलेसम्म त्यही छुट्टाइएको जग्गामा बनाउने योजना छ, भोलि राष्ट्रिय खेलकुद परिषदको सल्लाहमा निर्माणको काम गर्ने छौं ।

अध्यक्ष श्रेष्ठका अनुसार नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरी अन्तराष्ट्रिय मापदण्ड अनुसारको पौडी पोखरी निर्माण गरिने छ । बजे विनियोजन भए ठेण्डर प्रक्रिया मार्फत निर्माण कार्यलाई छिटो पुरा गर्ने लक्ष्य र योजना क्षेत्रीय खेलकुद विकास समितिले लिएको छ । राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पौडीको महिला तथा पुरुष दुवै इभेण्ट पोखरामै आयोजना गर्ने प्रारम्भिक निर्णय गरिसकेको छ ।

अन्तराष्ट्रिय मापदण्ड अनुसार पौडी पोखरी २५ मिटर चौडाई र ५० मिटर लम्बाईको हुने छ । यद्यपी २५ मिटर लम्बाई र २५ मिटरकै चौडाई समेत अन्तराष्ट्रिय मान्यता प्राप्त हुने प्राविधिकहरु बताउँछन् । ‘हामीले ४० करोड रुपैयाँ बजेट प्रस्ताव गरेका हौं ।’ उनले भने–‘प्रस्ताव अनुसार बजेट उपलब्ध भए हिटिङयुक्त पोखरी बनाईने छ ।’

पोखरामा आयोजना हुने विद्यालयस्तरीयदेखि खुल्ला पौडी प्रतियोगिता भने निजी क्षेत्रका पौडी पोखरीमा आयोजना गरिदैं आएको छ । खेलकुद परिसर भित्रै निर्माण गरिए खेलाडीले नियमित रुपमा पौडीको प्रशिक्षण पाउने छन् । रंगशालाभित्रै छुट्टाइएको जग्गामा पौडी पोखरी बनाउन सकिए लागत केही कम पौडी संघको छ । २५ मिटरको चौडाईको बनाई आवश्यकता अनुसार लेन बनाउन सकिने कास्की जिल्ला पौडी संघका अध्यक्ष वैभव पौडेल बताउँछन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया