काठमाडौँ । सरकारी लगानी रहेको पब्लिक कम्पनी ‘तारा गाउँ रिजेन्सी होटल्स लिमिटेड’को स्वामित्वमा रहेको काठमाडौँको बौद्धस्थित होटल हायात बन्द भएको छ ।
होटल व्यवस्थापनले कर्मचारी आन्दोलनको कारण होटल चलाउन सक्ने स्थिति नभएको जानकारी नेपाल स्टक एक्सचेन्जलाई गराएको छ । तारा गाउँ रिजेन्सी होटल्स मजदुर युनियनले चार दिनदेखि विभिन्न माग राखेर आन्दोलन गरेपछि व्यवस्थापनले होटल बन्द गर्ने निर्णय गरेको थियो ।
व्यवस्थापनले गैरकानुनी हडताल र नारा जुलुसका कारण होटलका सम्पूर्ण सेवा र प्रशासनिक काम कारबाही प्रभावित भएर होटल बन्द गर्नु परेको जानकारी गराएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । होटल बन्द भएपछि सयौँ मजदुरको बिचल्ली भएको छ ।
४० प्रतिशत सरकारी सेयर रहेको कम्पनीमा सञ्चालकहरूको चलखेलका कारण सरकारी सेयर जम्मा १० प्रतिशतमा खुम्चिएको थियो । स्रोतका अनुसार सञ्चालकहरूले चलखेल गरेर सरकारको स्वामित्वमा रहेको सेयर समेत आफ्नो बनाउन होटेल बन्द गर्ने योजना बनाएका थिए ।