शनिबार, बैशाख ०८, २०८१

गुठी विधेयक खारेज गर्न जापानवाट नेवारी समुदायको माग

जापान । गुठी विधेयकको बिरोध स्वदेशको सीमा पार गरी परदेशसम्म पुगेको छ । काठमाडौं उपत्यकामा दैनिकजसो बिरोध प्रदर्शन भैरहेका बेला जापानस्थित नेवाः अन्तर्राष्ट्रिय फोरम जापान र नेवाः खल जापानले संयुक्त विज्ञप्ति जारी गरी विधेयक खारेजको माग गरेको छ ।

नेवाः अन्तर्राष्ट्रिय फोरम जापानका अध्यक्ष दीप रत्न शाक्य र नेवाः खल जापान, कार्यवाहक अध्यक्ष ईश्वर जोशीद्वारा हस्ताक्षरित संयुक्त विज्ञप्तिमा सरकारले लागु गर्न लागेको गुठी सम्बन्धिक बिधेयकको बिरोध र खारेजीको माग गर्दै बिधेयकको बिरोधमा उठेका सबै गुठीयार, संघसंस्था, वर्ग, व्यक्तिहरूप्रति ऐक्वद्धता जनाइएको छ ।

“गुठी हरण, संस्कृति मरण ! गुठी बिधेयक तत्काल खारेज गर !!” भन्ने नारासहित जारी विज्ञप्तिमा भनिएको छ विभिन्न बहानामा विभिन्न कालखण्डमा हाम्रो कला, संस्कृतिमा बारम्बार आक्रमण हुँदै आएको छ । हाम्रो घर, मठ, मन्दिर, पाटी, पौवाहरू भत्काइएको छ, हामीहरूलाई आफ्नै ठाँउमा सुकुम्वासी बनाईइएको छ । अब त हुँदाहुँदा हाम्रो कला, संकृति, परम्परा, जात्रा जोगाउन लिच्छिवीकालदेखि बनाइएको गुठीलाई खारेज गरी सरकारीकरण गर्न खेजिएको आरोप लगाइएको छ ।

विज्ञप्तिमा “पुर्खाले हाम्रो चाडवाड मनाउन, धर्म र सन्तानको हितका लागि राखेको गुठीको जग्गा भुमाफियालाई फाइदा हुने गरी बिधेयक ल्याउन खोजिएको भन्दै बिधेयक कार्यान्वयन भएमा जुनसुकै तवरले गुठीहरूको स्वामित्वमा रहेको जमिन र सम्पत्ति पनि सरकारीकरण हुने र कुलपूजा गर्ने गुठी तथा पारिवारिक गुठीको सञ्चालकमा समेत सत्ताशीन सरकारले इच्छ्याएको व्यक्ति आई सञ्चालन गर्ने” आरोप लगाइएको छ ।

“भूमिपूजनको संस्कृतिबाट बाँधिएका नेपालका अनेक जनजाति र समुदायमा रहेका तर दर्ताविहीन गुठी, तमाम भूमिपूजाका लागि संरक्षित संस्थाहरू आदिवासीबाट छिनेर सत्ताशीनका वफादारहरूमा पुर्याउन खोजिएको गम्भीर आरोप लगाइएको विज्ञप्तिमा भनिएको छ ।