मङ्गलबार, बैशाख १५, २०८३

संघीय सांसदलाई ल्यापटप बाँड्ने तयारी,पेपरलेस बनाउने योजना

काठमाडौं । सरकारले संघीय सांसदका सबै सदस्यलाई ल्यापटप बाँड्ने तयारी गरेको छ । सांसदलाई पेपरलेस बनाउने भन्दै ल्यापटप बाँड्न लागिएको हो ।

संघीय संसद सचिवालयले ३ सय ३४ जना सांसदलाई ल्यापटप उपलब्ध गराउने गरी गत १९ जेठमा बोलपत्र आह्वान गरेको छ । प्रतिनिधिसभाका २ सय ७५ र राष्ट्रिय सभाका ५९ सांसदले ल्यापटप पाउनेछन् ।
१ महिनाको समयावधि राखेर ल्यापटप खरीदको बोलपत्र जारी भएको हो । ‘पेपर, प्रिन्ट र फोटोकपीका लागि सचिवालयको ठूलो रकम खर्च हुने गरेको छ,संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले भने, ‘सचिवालयलाई क्रमशः पेपरलेस बनाउने अभियानस्वरुप ल्यापटप उपलब्ध गराउन लागिएको हो ।

संसदीय समितिका बैठकहरुलाई पनि सकेसम्म प्रविधिमा आधारित बनाउने उनले बताए । सांसदका लागि ल्यापटप खरीद गर्न अर्थ मन्त्रालयबाट सहमति प्राप्त भइसकेपछि बोलपत्र आह्वान गरिएको हो । अर्थले रकम दिने सहमति दिएपछि हामीले बोलपत्र मार्फत ल्यापटप खरीद प्रक्रिया अगाडी बढाएका हौं,’ सचिवालय स्रोतले भन्यो ।

संसद सचिवालयका अनुसार पहिलो पटक सांसदहरुका लागि ल्यापटप बाँड्न लागिएको हो । पहिलो र दोस्रो संविधानसभा निर्वाचनपछि संसदीय दलका नेता र प्रमुख सचेतकलाई ल्यापटप बाँडिएको थियो ।