शनिबार, बैशाख ०८, २०८१

प्रधानमन्त्री ओली जेनेभामा,आइएलओको शतवार्षिकी समारोहमा सहभागी हुने

जेनेभा । युरोपियन मुलुकको भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली स्वीटजरल्याण्डको जेनेभा पुगेका छन् । युरोपियन मुलुकको भ्रमणको क्रममा प्रधानमन्त्री ओली आईतवार अपरान्ह स्वीट्जरल्याण्डको जेनेभा पुगेका हुन् ।

प्रधानमन्त्री ओली जेनेभामा आज सोमवार हुने अन्तराराष्ट्रिय श्रम संगठन आइएलओको शतवार्षिकी समारोहमा सहभागी हुनेछन् । प्रधानमन्त्री ओलीले अन्तराष्ट्रिय श्रम संगठन संगको नेपालको सम्बन्ध र ऐक्यबद्धता तथा नेपाल जस्ता अल्पविकसित राष्ट्रहरुले श्रम सम्बन्धमा बेहोर्नु परिरहेको चुनौती तथा नेपालले नयाँ संविधान अन्तर्गत श्रम सम्बन्धमा अपनाएको सामाजिक सुरक्षाका कार्यक्रमसहितका विषयमा अन्तराष्ट्रिय समुदायलाई प्रष्ट पार्ने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।

जेनेभा समारोहमा विश्वका ४५ देशका राष्ट्र तथा सरकार प्रमुखको सहभागिता रहनेछ । स्वीट्जरल्याण्डको भ्रमणपछि प्रधानमन्त्री ओली सोमवार नै बेलायत प्रस्थान गर्ने कार्यक्रम छ । बेलायतमा प्रधानमन्त्री ओलीले विश्वप्रसिद्ध अक्सफोर्ड यूनिभर्सिटीको युनियनलाई विशेष सम्बोधन गर्नेछन् । बेलायत भ्रमणपछि प्रधानमन्त्री ओलीले फ्रान्सको औपचारिक भ्रमण गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीको भ्रमण दलमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई, प्रेस सल्लाहकार डा.कुन्दन अर्याल, सांसद विन्दा पाण्डे, परराष्ट्र र श्रम सचिव लगायत छन् ।

प्रधानमन्त्री ओली असार १ गते स्वदेश फर्कने कार्यक्रम छ ।