कैलाली । सुदुरपश्चिम प्रदेश सरकारले गत बिहीबार हावाहुरीबाट मृत्यु भएका दुई जनाको परिवारलाई जनही डेढ लाख रुपैयाँ राहत दिने भएको छ ।
आइतबार बसेको मन्त्रिपरिषद बैठकले हावाहुरीमा परी ज्यान गुमाएकाका परिवारलाई राहात स्वरुप प्रति परिवार एक लाख पचास हजार दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश शाहले जानकारी दिए ।
प्रदेश सरकारले हावाहुरीका कारण पूर्ण क्षति पुगेका परिवारलाई क्षतिपुर्तिस्वरुप २० हजारका दरले राहत वितरण गर्ने तथा आशिंक क्षति भएका परिवारलाई १० हजार राहत दिने निर्णय पनि गरेको छ ।
त्यस्तै पशुपंक्षी, कृषिलगायतका अन्य क्षेत्रमा भएको क्षतिको अध्ययन गरी मापदण्ड बनाएर सम्बन्धित मन्त्रालयले राहत वितरण गर्ने निर्णय भएको पनि मन्त्री शाहले जानकारी दिए । प्रदेश सरकारले विभिन्न संघसंस्थाबाट आउने राहत मुख्यमन्त्री राहत कोष मार्फत वितरण गर्ने निर्णय पनि गरेको छ ।

