मङ्गलबार, बैशाख १५, २०८३

मिडिया विधेयक अघि बढाउन खोजे संसद अवरुद्ध पार्ने देउवाको चेतावनी

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मिडिया काउन्सिल विधेयक अघि बढाउन नहुने बताएका छन् । सरकारले उक्त विधेयक अघि बढाउन खोजे कांग्रेसले संसद अवरुद्ध पार्ने देउवाको चेतावनी छ ।

सभापति देउवाले लोकतन्त्रविरोधी मिडिया काउन्सिल विधेयक तथा मानव अधिकार हनन् हुने गरी आएको मानव अधिकार आयोगसम्बन्धि विधेयक संसदबाट अघि बढाउन खोजे संसद र सडक दुवै अवरुद्ध पारेर आन्दोलन चर्काउन कांग्रेस बाध्य हुने बताए ।

नेपाली कांग्रेसद्वारा शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रममा देउवाले सरकारले बालुवाटारलगायतका सार्वजनिक तथा गुठीको जग्गा नियन्त्रणमा लिएर पार्टीका सांसदहरुलाई दिने काम गरिरहेको आरोप लगाए । उनले त्यस्ता गतिविधि रोक्न पनि आफ्नो पार्टी लागिपर्ने उल्लेख गरे ।

सभापति देउवाले सरकारले मिडियामाथि अंकुश लगाएर लोकतन्त्रलाई कमजोर बनाउने षडयन्त्र गरिरहेको पनि दोहोर्याए । सरकारका हरेक कदम लोकतन्त्र र जनताविरोधी भएकाले आफ्नो पार्टीले प्रतिवाद गर्ने योजना तय गरेको सभापति देउवाको भनाइ छ ।