मङ्गलबार, बैशाख १५, २०८३

सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरमा भीषण हावाहुरी

काठमाडौं । सुदूरपश्चिम प्रदेशका दुई जिल्ला कैलाली र कञ्चनपुरमा बिहीबार भीषण हावाहुरी आएको छ । भीषण हावाहुरी साँझ ८ बजेतिर कैलाली र कञ्चनपुर जिल्लाका अधिकांश स्थानमा आएको दुबै जिल्लाका प्रहरीले पुष्टि गरेका छन् । प्रहरीका अनुसार दुई जिल्लामा आँधीहुरीबाट कम्तीमा २० जना घाइते भएका छन् । उनीहरु मध्ये केहीको अवस्था गम्भीर भएको जनाइएको छ ।

हावाहुरीका कारण धनगढीमा कम्तीमा १० जना घाइते भएका छन् । यस्तै रुखहरु ढल्नाका ढलेका छन् भने सयौं घरका छानाहरु उडाएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । आँधीहरुबाट जिल्लाभरको जनजीवन प्रभावित बनेको र उद्दारकार्य जारी रहेकाले थप मानवीय क्षतिको विवरण आउन बाँकी रहेको छ । ठाउँठाउँमा रुखहरु ढल्दा सडक अवरुद्ध बन्न पुगेको छ । अहिले प्रहरीले उद्दार कार्य जारी राखेको छ ।

यस्तै कञ्चनपुरमा पनि हुरीको व्यापक प्रभाव परेको छ । विशेषगरी महेन्द्रनगर र आसपासको क्षेत्रमा हुरीको प्रभाव परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएकाे छ । कञ्चनपुरमा हुरीबाट १० जना घाइते भएको र उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।