बिहिबार, बैशाख १३, २०८१

नेकपामा संगठनात्मक एकीकरणका बाँकी काम कार्यविभाजन गर्ने तयारी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले आज केन्द्रीय नेताहरुको कार्यविभाजन गर्दैछ । त्यसका लागि अपरान्ह ३ बजेपछि सचिवालय बैठक बोलाइएको छ । संगठनात्मक एकीकरणका बाँकी काम बैठकका एजेन्डाका रूपमा राख्दै कार्यविभाजनको निर्णय लिइने महासचिव विष्णु पौडेलले जानकारी दिए ।

महासचिव पौडेलले कार्यविभाजन प्रस्ताव तयार पारी दुई अध्यक्षलाई बुझाएको छन् । दुवै अध्यक्षसहित अन्य सचिवालय सदस्यका विचमा समेत छलफल भईसकेको छ । अध्यक्षद्वयले चरण–चरणमा छलफल गरेपछि प्रस्ताव सचिवालयमा पेस गर्न लागिएको हो । संगठन, स्कुलिङ, विदेश मामिला, प्रचार तथा प्रकाशन विभागको जिम्मेवारी हात पार्न नेताहरूविच प्रतिष्पर्धा नै चलेको छ । त्यसैले कार्यविभाजन टुंग्याउन नेतृत्वलाई सकस परेको थियो। वामदेव गौतम, रामबहादुर थापा र ईश्वर पोखरेल संगठन विभागको नेतृत्वलिच आकांक्षी रहनु भएको छ । स्कुलिङमा पनि पोखरेलसहित नारायणकाजी श्रेष्ठ, झलनाथ खनाल, आर्थिकमा महासचिव पौडेलको नाम चर्चामा छ । विदेश मामिलामा वरिष्ठ नेता नेपालको नाममा सहमतिजस्तै बनेको छ । यद्यपी यसलाई सचिवालय बैठकले टुंगो लगाएपछि मात्र आधिकारीक मानिने छ ।

नेकपामा रहेका ३२ विभाग मध्ये मुख्य–मुख्यमा सचिवालय सदस्यलाई जिम्मा दिने तयारी रहेको स्रोतको भनाइ छ । अर्थ तथा योजना, प्रचार तथा प्रकाशन, प्रादेशिक मामिला, पार्टी स्कुलिङ, राजकीय मामिला तथा सुशासन, विदेश मामिलाजस्ता विभाग महत्वपूर्ण छन् । यसैविच, पोलिटब्युरो भने तत्काल गठन हुने सम्भावना न्युन रहेको छ । यस्तै, बैठकले भूगोलका ७७ वटै जिल्लाका इन्चार्जको टुंगो लगाउने तयारी पनि छ। त्यसका लागि वरिष्ठतालाई आधार बनाइएको छ ।

तत्कालीन एमाले अध्यक्ष रहेको जिल्लामा माओवादी र माओवादी अध्यक्ष रहेको जिल्लामा एमाले पृष्ठभूमिका नेतालाई सकभर इन्चार्ज तोक्ने तयारी छ । तर, केही जिल्लामा एकै पृष्ठभूमिका अध्यक्ष र इन्चार्ज हुने गरी पनि केन्द्रीय समिति सदस्यको वरिष्ठतालाई आधार बनाएर कार्यविभाजन प्रस्ताव तयार पारिएको स्रोतले बताएको छ।