शुक्रबार, बैशाख ०७, २०८१

अन्तरघात गर्ने जो कोहीलाई कार्बाही गर्ने सभापति देउवाको चेतावनी

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्ट सरकारबाट मुक्ति पाउन जनताले आन्दोलन गर्नुपर्ने बेला आउन सक्ने बताएका छन् ।

शनिबार कांग्रेस रुपन्देहीको जिल्ला सम्मेलन उद्घाटन गर्दै सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओली सरकारले जनताको प्रजातान्त्रिक अधिकारमाथि हस्तक्षेप गर्दै गएको बताए।
‘सरकारले अभिव्यक्ति स्वतन्त्रतामाथि बन्देज लगाउन खोज्यो। प्रेस काउन्सिलमाथि धावा बोलेको छ। मानब अधिकार आयोगमाथि पूर्ण हस्तक्षेप गर्न खोजेको छ,’ देउवाले भने,

प्रेसमाथि हस्तक्षेप भनेको प्रजातन्त्रमाथिको हस्तक्षेप हो। कांग्रेसले अभिव्यक्ति स्वतन्त्रताका लागि २००७ सालदेखि लड्दै आएको हो ।
प्रधानमन्त्रीले आलोचना सहन नसकेको देउवाको भनाइ छ। ‘ओलीको खिलापमा बोल्नै नपाउने, लेख्नै नपाउने हो ?,’ देउवाले भने, ‘यदी त्यसो हो भने यो प्रजातन्त्रमाथिको हमला हो।’ वाक् स्वतन्त्रतामाथि हस्तक्षेप गर्दा विगतमा कांग्रेसले राणा, राजा र पञ्चायत हटाएको उनले बताए ।

प्रधानमन्त्री ओलीले जनताका अधिकार खोस्दै गए भने आन्दोलन गर्ने देउवाले बताए। उनले थपे, ‘कम्युनिष्ट सरकारबाट मुक्ति पाउन आन्दोलन गर्नुपर्ने बेला आउन सक्छ । तयार रहनुपर्छ। त्यसका लागि पार्टी एक हुनु जरुरी हुन्छ ।
सरकारले बुधबार ल्याएको बजेटबारे देउवाले कार्यकर्ता पोस्ने वितरणमुखी बजेट भन्दै टिप्पणी गरेका छन् । ‘विदेशी सहायता र जनताको करले कार्यकर्ता पोस्न पाइन्छ?’ उनले भने, ‘कार्यकर्ता पोस्ने बजेट आएको छ ।

सभापति देउवाले कांग्रेसलाई हराउने अरु कोही नभएर कांग्रेस नै भएको भन्दै चुनावका बेला अन्तरघात गर्ने जो कोहीलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।