शनिबार, बैशाख ०८, २०८१

नेपाल एयरलाइन्सको विमान अवतरण गर्दा रुम्जाटारमा भव्य स्वागत

ओखलढुंगा । ३ वर्षदेखि बन्द रहेको ओखलढुंगाको रुम्जाटार विमानस्थल शुक्रबारदेखि पुनः सन्चालनमा आएको छ । रुम्जाटार विमानस्थलमा कालोपत्रे भएको लामो समयपछि शुक्रबार बिहान पहिलोपटक नेपाल एयरलाइन्सको विमान अवतरण गर्दा स्थानीयले भव्य स्वागत गरे ।

रुम्जाटार विमानस्थलमा नियमित विमान उडान गराउने विषय गत वर्षको प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा उम्मेदवारको एजेण्डा समेत बनेको थियो । शुक्रबार विहान काठमाडौंबाट पहिलो उडानका लागि टिकट काटेरै यात्रु बनेका प्रतिनिधिसभा सदस्य यज्ञराज सुनुवार र प्रदेशसभा सदस्य अम्बिरबाबु गुरुङलाई रुम्जाटारमा स्वागत गरिएको थियो ।

विमानस्थल कालोपत्र नभएका कारण २०७० सालअघिसम्म हिउँदमा विमान अवतरण भए पनि वर्षातको समयमा बन्द हुने गथ्र्यो । माधव नेपाल प्रधानमन्त्री हुँदा रुम्जाटार पुगेका बेला स्थानीयको माग बमोजिम उनले कालोपत्रेको पहल गरे पनि यात्रु नभएको भन्दै पछिल्लो ३ वर्षयता एयरलाइन्सहरुले उडान भर्न छाडेका थिए ।

कालोपत्रे भएको सुन्दर विमानस्थलमा कुनै उडान नहुँदा विरामी, वृद्धवृद्धा र अत्यावश्यक कामले काठमाडौं तथा विराटनगर जानुपर्नेहरुले सास्ती खेप्नुपरेकाले नियमित उडान सञ्चालन गर्न आफूहरुले निरन्तर दबाब दिएको सांसद सुनुवारले बताए । उनले घुमी फिरी रम्जाटार भन्ने नेपाली उखान जस्तै निरन्तर पहलपछि घुमी फिरी पुनः रुम्जाटार विमानस्थल सञ्चालनमा आएको बताए । रुम्जाटारका स्थानीय बासिन्दा समेत रहेका प्रदेशसभा सदस्य गुरुङले अहिले प्रत्येक साताको शुक्रवार नेपाल एयरलाइन्सको एउटा उडान सञ्चालन हुने बताए । यात्रुको चाप बढेमा अन्य एयरलाइन्सले पनि उडान भर्न सक्ने तर नेपाल एयरलाइन्सको भने अनिवार्य उडान् हनुपर्ने बताए ।

रुम्जाटार काठमाडौं नियमित उडान सफल भएपछि आवश्यकता अनुसार रुम्जाटारबाट प्रदेश राजधानी विराटनगरको पनि उडान थाल्न सकिने प्रदेशसभा सदस्य गुरुङको भनाइ छ ।