शुक्रबार, बैशाख ०७, २०८१

कांग्रेस र कम्युनिस्ट पार्टीबाट समृद्धि र सुशासन सम्भव छैन : डा.भट्टराई

बुटवल । समाजवादी पार्टी नेपालका अध्यक्ष डा.बाबुराम भट्टराईले नेपालका कांग्रेस र कम्युनिस्ट पार्टीबाट समृद्धि र सुशासन सम्भव नरहेको दावी गरेका छन् ।

कांग्रेस र कम्युनिस्ट दुबैले संघीय लोकतन्त्रिक गणतन्त्र स्थापनामा योगदान गरेर लामो समय सरकार चलाए पनि भ्रष्टाचार र कुशासनमा डुबेकाले जनताले चाहेको समृद्धि र सुशासन प्राप्त नहुने तर्क गरे ।

‘कांग्रेस र कम्युनिस्टलाई विगतमा गरेको योगदानको यथोचित धन्यवाद दिंदै विश्राम दिनुपर्छ,’ भट्टराईले भैरहवामा पत्रकारसंग भने, ‘भ्रष्टाचारबाट मुक्ति पाउन र सुशासनसहितको समृद्धिका लागि जनताले कांग्रेस र कम्युनिस्टको विकल्प खोज्नैपर्छ ।

विगतमा पनि भ्रष्टाचार भएको तर अहिलेको सरकार बनेपछि झन् ठूला भ्रष्टाचारका काण्डहरु बढेको भन्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले बढ्दो भ्रष्टाचारका कारण जनताले संघीय गणतन्त्रमा पनि नयाँपनको अनुभूति गर्न नपाएको दावी गरे ।

हालै आएको बजेट आर्थिक क्रान्तिमा नभएको र परम्परागत ढर्राकै रहेकाले आशावादी हुने ठाउँ नरहेको भट्टराईले टिप्पणी गरे । ‘दुई तिहाईको बलियो सरकारले ल्याउने बजेट यस्तो हुँदैन,’ भट्टराईले भने, ‘विकास खर्च थोरै छ,त्यो पनि खर्च गर्ने सामथ्र्य सरकारमा छैन,यस्तो अवस्थामा वजेटबाट के आशा गर्ने ?

संविधान संशोधन नभए मुलुक फेरि दुर्घटनामा पर्नसक्ने चेतावनी दिदै भट्टराईले आफ्नो पार्टीले यथाशीघ्र संविधान संशोधनका लागि सरकारलाई आग्रह गरेको र दुर्घटना नहोस् भनेर सरकार छाडिनहालेको स्पष्ट पारे ।