काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भारत प्रस्थान गर्नुभएको हो ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन निम्ता गरेपछि प्रधानमन्त्री ओलीले आफू भारतको औपचारिक भ्रमणमा आउने जानकारी पठाउनु भएको थियो । सोही अनुसार प्रधानमन्त्री ओली आज दिल्ली जानुभएको हो । परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओली भोलि शुक्रबार नेपाल फर्कनुहुनेछ । नयाँदिल्लीमा रहँदा प्रधानमन्त्री ओलीले भारतका उच्चस्तरका नेता तथा अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रमसमेत तय भएको छ ।
प्रधानमन्त्री ओलीले भारतका नवनियुक्त प्रधानमन्त्री मोदीसँग कुराकानी गर्नुहुनेछ । कुराकानीका क्रममा नेपाल भारत सम्बन्ध नयाँ उचाईमा पुर्याउने बिशेष प्याकेजबारे छलफल हुने परराष्ट्र स्रोतको भनाई छ । भारतीय प्रधानमन्त्री मोदीको अघिल्लो कार्यकालको शपथग्रहण समारोहमा तत्कालीन प्रधानमन्त्री सुशील कोइराला (स्वर्गीय) सहभागी हुनुभएको थियो ।
मोदीले यसपटक आफ्नो शपथग्रहण समारोहमा नेपालसहित छिमेकी पाँच राष्ट्रका कार्यकारी प्रमुखलाई निम्ता दिनुभएको थियो । सोही निम्तो मान्न प्रधानमन्त्री ओली दिल्ली जानुभएको हो ।
मोदीको सपथ ग्रहण कार्यक्रम बिहीबार साँझ हुँदैछ । प्रधानमन्त्री ओली भोलि शुक्रबार स्वदेश फर्किनेछन् ।

