मङ्गलबार, बैशाख १५, २०८३

विप्लव समूहको मागलाई वार्ताबाट समाधान गर्नुपर्ने पौडेलको सुझाव

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको मागलाई सरकारले वार्ताबाट समाधान गर्नुपर्ने बताउनुभएको छ ।
डोटीमा मङ्गलबार नेपाली काङ्ग्रेसले आयोजना गरेको आमसभामा नेता पौडेलले देशमा हिसांत्मक घटना बढ्दै गएकाले ‘विप्लव’ समूहलाई वार्तामा ल्याएर समस्या समाधान गर्नुको विकल्प नरहेको सुझाव दिनुभएको छ ।

देश परिवर्तनका लागि गरेका सबै प्रयास असफल भइसकेकाले देशमा विकास र समृद्धिको यात्रा तय गर्नतर्फ सरकार गम्भीर भएर लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले भन्नुभयो, “विप्लव कसरी जन्मियो रु कहाँबाट जन्मियो र किन जन्मियो यसका बारेमा सरकारले बुझेर समाधान गर्नतिर लाग्नुपर्छ ।”

नेता पौडेलले सरकारले ‘विप्लव’ माओवादीमाथि नियन्त्रण गर्न प्रतिबन्धको कदम चालेर देशलाई द्वन्द्वमा फसाउन खोजेको आरोपसमेत लगाउनुभयो । उहाँले हिंसाको राजनीति त्यागेर सबैलाई शान्तिपूर्ण राजनीतिमा आउनसमेत आह्वान गर्नुभयो । देश र नागरिकलाई सुरक्षा दिन सरकार पूर्णरुपमा असफल भएको बताउँदै उहाँले ‘विप्लव’ लाई वार्तामा ल्याएर समस्या समाधान गर्न सरकार गम्भीर नभएको आरोप लगाउनुभयो । उहाँले ‘विप्लव’ समूहलाई पनि हतियार त्यागेर वार्तामा आउन आग्रह गर्नुभयो ।

त्यस्तै नेता पौडेलले दिपायलमा रहेका काङ्ग्रेसका संस्थापक नेता अर्जुनसिंह कठायतको नवनिर्मित सालिकको उद्घाटनसमेत गर्नुभएको थियो ।