काठमाडौँ । समाजवादी पार्टी नेपालका अध्यक्ष एवं उपप्रधान,स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले पार्टीले संविधान संशोधन नभए सडक सङ्घर्षको मुख्य बाटो रोज्ने बताएका छन् ।
मंगलवार विराटनगरमा समाजवादी पार्टीद्वारा आयोजित प्रदेश नं १ स्तरीय अभिमुखीकरण कार्यक्रममा उनले विभेदको अन्त्य, संविधानमा रहेको त्रुटि सच्याउन र समावेशी बनाउन मात्र सरकारमा समावेश भएको प्रस्ट पारे ।
अध्यक्ष यादवले जनताको सङ्घर्षबाट प्राप्त भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रबाट मुलुकमा समृद्ध कायम हुने भएकाले यसलाई संस्थागत र प्राप्त उपलब्धिलाई रक्षा गर्नलाई पार्टी एकीकरण गरिएको जानकारी दिए । समाजवादी पार्टी नेपालका अध्यक्ष डा.बाबुराम भट्टराईले जातीय विविधता, पहिचानलाई सम्बोधन गर्न पार्टीको एकीकरण गरिएको बताए । उनले भ्रष्टाचारको अन्त्य, मुलुकमा सुशासन कायम गरी जनताको विकासप्रतिको चाहनालाई पूर्ति गर्नु नै पार्टीको उद्देश्य रहेको धारणा व्यक्त गरे ।
पार्टीका वरिष्ठ नेता अशोक राईले जनताको चाहनाअनुसार पार्टीबीच एकीकरण भएको बताउँदै पार्टीले शोषित पीडित जनताको मुक्तिका लागि कार्य गर्ने धारणा व्यक्त गरे ।
प्रदेश अध्यक्ष प्रविन चाम्लिङको सभापतित्वमा भएको उक्त कार्यक्रममा सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, उपाध्यक्ष पर्शुराम खापुङ, हेमराज राई, हिसिला यमी, रकम चेम्जोङ र प्रा महेन्द्र सुब्बा लावती लगायतले पार्टी एकताबाट आगामी निर्वाचनमा ठूला पार्टीलाई पराजित गर्ने विश्वास व्यक्त गरे ।
सो भेलामा पूर्वका पहिचानवादी र समाजवादी पार्टीका नेता कार्यकर्ताको बाहुल्य उपस्थिति रहेको थियो ।

